
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नं. ५ मा यसपटक मुख्य दलसहित स्वतन्त्रबाट पनि चर्चित हस्तीहरु आमनेसामने छन् । काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि कांग्रेसका युवा नेता प्रदीप पौडेल, विवेकशील त्यागेकी रञ्जु दर्शनालगायत प्रतिस्पर्धामा देखिएका छन् ।
यस क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी परेको भएपनि चुनावी माहोल र अहिलेसम्मको अवस्थालाई हेर्दा मुख्यगरी एमालेका पोखरेल, कांग्रेसका पौडेल र स्वतन्त्र उम्मेदवार दर्शनाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कांग्रेस पृष्ठभूमिका प्रणयशम्सेर राणा र अर्का स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठको अवस्था पनि जोडघटाउलाई बिगार्ने खालको छ ।
काठमाडौं ५ मा गठबन्धनलाई कांग्रेस पृष्ठभूमिका राणाको चिन्ता छ भने एमालेलाई स्वतन्त्र उम्मेदवार श्रेष्ठको चिन्ता छ । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा अनौठो गरी दर्शनाले मत ल्याएकी थिइन् । यही क्षेत्रकी स्थायी बासिन्दा दर्शनाले मेयरको प्रतिस्पर्धामा करिब २४ हजार मत ल्याएकी थिइन् ।
कसको सम्भावना कस्तो ?
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत काठमाडौं महानगरका चार, बूढानीलकण्ठ नगरपालिकाका ५ र टोखा नगरपालिकाका ६ वटा वडा समेटिएका छन् । यो क्षेत्रभित्र काठमाडौं महानगरका २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ वडा रहेका छन् ।
०७९ को स्थानीय तहको मतलाई आधार मान्ने हो भने काठमाडौं–५ को निर्वाचन क्षेत्रमा एमाले निकै बलियो देखिन्छ । वडा अध्यक्षहरूले प्राप्त गरेको मत जोड्दा प्रतिस्पर्धी कांग्रेसभन्दा एमाले ५ हजार मतले अगाडि छ ।
एमालेका वडाध्यक्षले कुल १७ हजार ९५२ पाउँदा कांग्रेसका वडाध्यक्षले १२ हजार पाँच मत प्राप्त गरेका छन् । त्यस्तै, एकीकृत समाजवादीले एक हजार ८३९ र माओवादी केन्द्रले ७२० मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्राप्त गरेको मतभन्दा एमाले तीन हजार ३८८ मतान्तरले अगाडि देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका थिए ।
वि.सं. २०७४ निर्वाचनमा एमालेका उमेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए । सो क्षेत्रमा अहिले एमाले एक्लै चुनावी मैदान रहेकोले गठबन्धनको साथले कांग्रेस चुनाव जित्ने दाउमा छ भने पोखरेल आफ्नो जितलाई कायम राख्ने कसरतमा छन् ।
पोखरेललाई मुख्य प्रतिस्पर्धी मानिएका पौडेल स्थानीय नभएको कारण केही सहज हुने देखिन्छ । तथापी, बदलिरहने मतले कसलाई जिताउँछ भन्न सकिन्न । पटक–पटक टेष्टेड भएका पोखरेलभन्दा पौडेल र दर्शनासहित उम्मेदवारलाई चुनावमा मनोवैज्ञानिक रुपमा सहज छ ।