
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले देशभरका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहररुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम प्रदान गरेको छ ।
कात्तिक २० गते चितवनको सौराहामा भएको उक्त कार्यक्रममा देशभरबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको कम्पनीले जनाएको छ ।
गैर कानूनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के–के हुन, रिपोर्टिङ कसरी गर्ने, आदी विषयमा विस्तृत जानकारी दिएको कम्पनीले जनाएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए ।
कम्पनीका अनुपालन अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट कपिल आचार्यले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
साथै कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला, विभागीय प्रमुख योगेश कुमार नेपाल, श्रीजन श्रेष्ठ र कम्पनीका बागमती प्रदेश प्रमुख राम प्रसाद भुसालको समेत उपस्थिती रहेको थियो ।