
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीले १३.३१ प्रतिशतले खुद बीमाशुल्क बढाएर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुर्याएको हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफामा पनि उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८२.२५ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले यस अवधिमा बीमालेखको धितोमा कर्जाबाट ५० करोड ३ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको सोही अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट २२ करोड ९३ लाख ३३ हजार रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ३ करोड ८ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।