back

शीर्ष नेतामा को कति सुरक्षित ?

वि.सं.२०७९ मंसिर १ बिहीवार

165 

shares
NTC AD
Global IME AD

काठमाडौं । निर्वाचन नजिकिदैँ जाँदा राजनीतिक दलका शीर्ष नेताको जोड–घटाउ सुरु भएको छ । कुन दलले कति स्थान जित्लान् भन्दा पनि कुन दलका शीर्ष नेताको अवस्था के भन्ने चाँसो सबैलाई परेको छ ।

स्वभावतः मुख्य नेताहरुको जित वा हारले संसदभित्रको राजनीतिमा निकै प्रभाव पार्दछ । यससँगै शीर्ष नेताहरुले जित्ने वा हार्नेले आगामी मुलुकको नेतृत्व पनि कसले गर्छ भन्ने कोणबाट पनि छलफल हुनसक्छ । यहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचन र गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार मुख्य चार दलका शीर्ष नेताहरुको सम्भावित चुनावी परिणामबारे आकंलन गरिएको छ ।

देउवा ग्रीन जोनमा

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सातौँपटक चुनावी प्रतिस्पर्धामा छन् । ०७४ मा देउवाले ६ हजार ९४८ मतान्तरले वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टलाई पराजित गरेका थिए । देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत पाएका थिए । यसपटक देउवालाई मुख्य प्रतिस्पर्धी मानिएको माओवादी केन्द्रले नै सघाएको छ ।

तथापी, देउवालाई उनकै पूर्वकार्यकर्ता कर्ण मल्लले टक्कर दिँदै छन् । साथै स्वतन्त्र उम्मेदवार सागर ढकालको पनि बलियो उपस्थिति डडेल्धुरामा देखिन्छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधारमा मान्दा कांग्रेस सबैभन्दा बलियो छ । वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसले सबैभन्दा बढी २१ हजार ४६२ मत पाएको थियो । डडेल्धुरामा माओवादी केन्द्रले १२ हजार ६२३, एमालेले १० हजार ५०९, एकीकृत समाजवादीले चार हजार ७१९ र कांग्रेस (बिपी)ले तीन हजार ७९९ मत प्राप्त गरेका थिए । गठबन्धन बनाएर चुनावमा गएको कारण देउवालाई निकै सहज देखिन्छ ।

ओलीलाई छैन गठबन्धनको डर

पाँच दलीय गठबन्धन हुँदा स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई निकै घाटा भयो । प्रतिनिधिसभा र प्रदेशसभामा त्यसको असर अझ बढी हुने चिन्ता एमालेभित्र छ । एमालेभित्र गठबन्धनको त्रास बढीरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ मा भने सबै मिल्दा पनि एमाले बलियो देखिन्छ ।

२०७४ मा भएको निर्वाचनमा ओली प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मतले विजयी भएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा पनि झापा–५ मा एमाले धेरै बलियो देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतलाई हेर्दा एमालेले सबै दलले भन्दा बढी मत पाएको छ । वडाअध्यक्षतर्फ एमालेले ४१ हजार बढी मत पाउँदा गठबन्धनले ३४ हजार ६६९ मात्रै मत पाएको छ ।

२०७४ मा भएको निर्वाचनमा अध्यक्ष ओली झापा ५ बाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए । ओलीले ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । यसपटककोे निर्वाचनमा पनि ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धामा हुँदैछ । तर, ओलीलाई एमालेसँगै राप्रपाको मत आउने हुँदा जित हात पार्न सहज देखिन्छ ।

नयाँ क्षेत्रमा प्रचण्ड सुरक्षित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी क्षेत्र फेरिरहने नेताका रुपमा स्थापित छन् । २०६४ देखि यता भएका तीन वटा निर्वाचनमा प्रचण्डले चार निर्वाचन क्षेत्र फेरिसकेका छन् । २०७४ को निर्वाचनमा चितवन–३ बाट विजयी भएका प्रचण्ड यसपटक गोरखा २ बाट चुनाव लड्दैछन् ।

गोरखा माओवादी केन्द्रको निम्ति निकै राम्रो क्षेत्र हो । गत स्थानीय तह निर्वाचनमा आएको मतलाई हेर्दा माओवादी केन्द्र निकै बलियो देखिन्छ । गोरखा–२ भित्र पर्ने ३८ वडामध्ये माओवादी केन्द्रले १८ र कांग्रेसले १७ वडा जितेका छन् । वडा अध्यक्षले पाएको मतको हिसाबमा माओवादी केन्द्रले २१ हजार ८५५ मत पाएको छ भने कांग्रेसले २१ हजार १३६ मत छ पाएको छ । त्यसैगरि, जसपाको ७ हजार ५०४ मत छ । यता, नेकपा एमालेले ७ हजार ९२६ मत पाएको छ ।

गोरखा २ मा आफुँ एक्लै बलियो हुँदाहुँदै पनि माओवादीले गठबन्धनको साथ लिएको छ । यहाँ कांग्रेसले माओवादीलाई सघाउँदै उम्मेदवार उठाएको छैन । अहिले मुख्यगरी प्रतिस्पर्धा माओवादी केन्द्रका उम्मेदवार प्रचण्ड र एमालेका अब्दुस मियाँबीच हुँदैछ । तर, २०७४ को प्रतिनिधिसभा निर्वाचन र गत स्थानीय तहको निर्वाचनलाई हेर्दा प्रचण्ड निकै बलिया छन् ।

माधव ग्रीन जोनमै

एमालेबाट विद्रोह गरेको १५ महिनापछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा होमिएका छन् । अध्यक्ष नेपाल यसपटक रौतहट १ मा सत्तागठबन्धनका साझा उम्मेदवार बनेका छन् । उनीसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । रौटहट १ मा माधवलाई सत्ता साझेदार दलहरुको साथ छ भने गुप्तालाई जसपाले सघाउँदैछ ।

२०७४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले २१ हजार ४७२ मत ल्याएर विजयी भएका थिए । उनले कांग्रेसका कृष्णप्रसाद यादवलाई हराएका थिए । यसपटक तत्कालिन राजपाको साथ माधवलाई छ भने झा सत्ता गठबन्धनकै सहयोगमा धनुषा ३ बाट उम्मेदवार भएका छन् ।

गत स्थानीय तह निर्वाचनलाई हेर्दा रौटहट १ मा एकीकृत समाजवादी सबैभन्दा बलियो पार्टीको रुपमा देखिएको छ । वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई हेर्दा एसले १९ हजार ६९८, कांग्रेसले १६ हजार ९२८, लोसपाले १२ हजार ६२, जसपाले आठ हजार २४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए ।

सत्तागठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा ५६ हजार ८७९ पुग्छ । निर्वाचनमा तालमेल गरेका एमाले र जसपाको मत जोड्दा १५ हजार ६२६ हुन्छ । सत्ता गठबन्धनको साथ पाउने हुँदा माधव रौटहट १ मा निकै सुरक्षित देखिन्छन् ।

झलनाथलाई गठबन्धनकै आश

२०७४ मा भएको निर्वाचनमा झलनाथ खनाल इलाम–१ बाट प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर बढी मतले विजयी भएका थिए । २०७४ मा भएको निर्वाचनमा झलनाथले ३६ हजार ८०५ मत ल्याउँदा कांग्रेसका भुपेन्द्र कट्टेलले १७ हजार १६७ मत ल्याएका थिए । तत्कालिन समय एउटै एमाले र वाम गठबन्धनभित्रका दलहरुको सिंगो मत खनालले पाएका थिए ।

तर, यसपटकको निर्वाचन भने खनालका लागि केही जटिल छ । खनालको निर्वाचन क्षेत्रमा सूर्योदयन गरपालिका र रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका तथा इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका ७ वडा गरी ३९ वडा पर्दछन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ३९ वडामध्ये कांग्रेसले १६, एमालेले १५, एकीकृत समाजवादीले ६ र अन्यले २ वडा जितेका थिए । पाएको मतलाई हेर्दा पनि खनालको पार्टीभन्दा एमाले र कांग्रेस धेरै अगाडि छन् । जसलाई आधार मान्दा खनाललाई गठबन्धनको साथ बिना जित्न कठिन छ ।

वि.सं.२०७९ मंसिर १ बिहीवार १३:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD