Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

एयरलाइन्स कम्पनीको लापरबाही, समस्यामा नेपाली यात्रु



काठमाडौं । बिहीबार राति नेपाल एयरलाइन्सको जहाजबाट कतारको दोहा उड्न लागेका नेपाली यात्रुहरु अन्तराष्ट्रिय विमानस्थलमै रोकिए । राति ११ बजेको उडानका लागि ८ बजे नै विमानस्थल पुगेका ५७ जना यात्रुलाई विमानस्थलबाट फर्काएर सुन्धारा पु¥याइयो । एयरलाइन्सले दिएको सही समयमा एयरपोर्ट पुग्दा पनि एयरपोर्टका कर्मचारीहरुले उनीहरुलाई काउन्टर क्लोज भइसकेको भन्दै एयरपोर्टबाट फर्काएका थिए ।

यस विषयमा नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले प्राविधिक कारणले यसो गर्नुपरेको बताइन् । उनले ठूलो जहाजमा आएको प्राविधिक समस्याका कारण त्यस एयरलाइन्सका यात्रुलाई सानो जहाजमा राख्नु परेकोले समस्या आएको तर, उनीहरु सबैजनालाई अर्कोदिनको फ्लाइटमा पठाउने बताइन् ।

खड्का भन्छिन्, ‘केही प्यासेन्जरहरु २–४ दिन अगाडिदेखि होटलमा हुनुहुन्थ्यो । तीन दिन अगाडिदेखि हाम्रो ठूलो जहाजमा टेक्निकल समस्या आएको थियो । १०० जना पेसेन्जरहरु अफलोड हुनु भाथ्यो उहाँहरुलाई म्यानेज गर्दा अहिलेको समस्या आएको हो ।’
खड्काले हप्तामा चारवटा मात्र फ्लाइट भएकाले म्यानेज गर्न गाह्रो भएको बताइन् । यात्रुलाई पूर्वजानकारी किन गराउनु भएन भनेर सोधिएको प्रश्नमा उनले भनिन्, “हाम्रो कोशिस सकभर उहाँहरुको समयमै पठाउने हुन्छ, अरु एयरलाइन्सको टिकट काटेर पनि पठाउने गर्र्छौं तर, अरु एयरलाइन्समा सिट नपाइने भएर पनि यस्तो भएको हो”, उनले भनेकी छिन्, “यसअघि पनि केहीलाई यसैगरी पठाएका थियौं, अन्य जहाजमा पनि पठाउन सकिएन अन्यमा पनि सिट पाइएन, त्यसैले समस्या भयो, यसमा हामी क्षमा चाहान्छौं ।”

आफ्नै देशको ध्वजाबाहक जहाजमा नेपालीको लागि यो नौलो कुरो भएन । यसअघि पनि नेपालबाट जाँदा होस् या नेपाल एयरलाइन्सका गन्तव्य रहेका अन्य देशबाट आउने नेपाली हुन् उनीहरु प्नि कहिले डिले हुने त कहिले फ्लाइट नै क्यान्सिल हुने तथा कहिले प्राविधिक समस्या आउने हुनाले पटक–पटक दुःख पाएको समाचारहरु आइरहेका छन् । अलपत्र यात्रुमध्येमा सुमन राना नेपाली आफ्नै ध्वजाबाहक जहाजमै हेपिएको बताउँछन् । “कहिलेसम्म यस्तो हालत हुन्छ हाम्रो ध्वजाबाहक जहाजको ?”, रानाले प्रश्न गरेका छन्, “ध्वजाबाहक जहाजमै हेपिने तथा आफ्नै देशमा अलपत्र पर्ने नेपालीहरु अन्तराष्ट्रिय एयरलाइन्समा कस्तो रेस्पोन्सको आश गर्ने ?’

अल जजिराको सास्ति पनि उस्तै

त्यस्तै, अर्को एक एउटा घटना छ भैरहवास्थित गौतम बुद्ध विमानस्थलको । अक्टोबर २५ तारिख अलजजिरा एयरमार्फत् साउदी उड्न लागेका पाल्पाका मनोहर श्रेष्ठ त्यस्तै समस्यामा परे । अन्तराष्ट्रिय लेटो क्याफे साउदीमा काम गर्ने श्रेष्ठ बिहानै साढे ६ बजेको फ्लाइट थियो । बुटवलमा बस्ने उनी हतार–हतार बिहानै ४ नबज्दै उठेर एयरपोर्ट पुगे । तर, त्यहाँ उनलाई भनियो “फ्लाइटको कुनै भर छैन । जहाज आउन पनि सक्छ नआउन पनि सक्छ ।”

त्यहाँ केही दिनदेखि उनी जस्तै अन्य यात्रु पनि आउने र जहाजको हालत बुझ्ने फर्किने गरिरहेको गुनासो गरिरहेका थिए । अर्कोदिन, बिहान ड्युटी भेटाउन साउदी पुग्नुपर्ने मनोहरलाई पीडा भयो । “कतै समयमा नपुग्दा कामबाट निकालिनुपर्ने पो हो कि !”

श्रेष्ठले काठमाडौंमा भएका आफन्तलाई अर्को फ्लाइटको टिकटको जोहो गर्न आग्रह गरे । आफन्तले पनि अन्तराष्ट्रिय मापदण्डअनुसार यात्रुलाई पूर्वजानकारी नदिइ यस्तो गर्न पाइँदैन । केही ढिलो होला तर जहाज उड्छ भनेर सम्झाए । नभन्दै घर फर्किन लागेका मनोहर ११ बजे जहाज चढे । तर जहाज उडेको केही समयमै प्राविधिक समस्या भनेर एयरपोर्टमै फर्कायो । बिहान साढे ६ बजे उड्ने तालिका रहेको जहाज दिउँसो २ बजे भैरहवा विमानस्थल छोडेर उड्यो ।

अब त ढुक्कले पाँच घण्टामै साउदी पुगिन्छ र रातभरी सुतेर अर्कोदिन ड्यिुटी भेटाउन पुगिन्छ भनेर ढुक्क भएका मनोहर फेरि कुवेतमा एकदिन बसेर अर्कोदिन मात्र उड्न पाए । अल जजिराको जहाजको साउदी–भैरहवा, भैरहवा–साउदीकी टिकट लिएका मनोहरलाई उक्त जहाजले कुवेतमा एकदिन ट्रान्जिटमा राखेर अर्कोदिन बल्ल साउदी पुर्‍यायो ।

“हामीलाई पहिले कुनै जानकारी दिइएन । अन्तराष्ट्रिय नियम पालना गर्नुपर्ने जहाजले थाहै नदिइ यस्तो दुःख दिएको पाइयो । यसमा सम्बन्धीत निकायको ध्यान जाओस् ।” श्रेष्ठले संसारन्युजसँग भने ।

थाई स्माइल एयरको ट्रान्जिट भिसाको पीडा

त्यस्तै अर्को घटना, जापान जान लागेका छत्र मगरको छ । उनले पनि गत नोभेम्बर ८ मा थाइ स्माइल एयरवेजबाट थाइल्याण्डको स्वर्णभूमि अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउँदै जापान जान लागेका थिए । लामो समयदेखि जापानमा बसेर नेपाल–जापान गर्दै आएका मगर समाजसेवी तथा त्यहाँको वातावरण क्षेत्रसँग सम्बन्धीत रहेर काम गर्छन् । नोभेम्बर ८ मा त्रिभुवन विमानस्थलबाट थाईल्याण्डको स्वर्णभूमि एयरपोर्टलाई ट्रान्जिट बनाउँदै जापान जान लागेका उनलाई अन्तराष्ट्रिय विमानथाईल्याण्डको ट्रान्जिट भिसा चाहिन्छ भने ।

पूर्व जानकारी बिना यसरी भिसा चाहिन्छ भनेपछि उनी अन्योलमा परे अनि स्वर्णभूमिबाट जापान उड्ने अर्को एयरलाइन्सलाई यसबारेमा जानकारी गराएपछि केही प्रक्रिया पूरा गरेर मात्र उनी जापानका लागि उडे । “म पटक–पटक नेपाल आउने–जाने गरेको आफुलाई अन्तराष्ट्रियरुपमा केही जाने बुझेको छु भन्नेलाई त स्माइली एयरले यस्तो दुःख दियो”, संसारन्युजसँग उनले भने, “की फोन गरेर या इमेल गरेर पूर्व जानकारी दिनुपथ्र्यो । या अन्तराष्ट्रियरुपमा थाहा हुने गरी उनीहरुले हाम्रो यस्तो नियम छ भनेर भन्नुपथ्र्यो । यसरी जानाजान यात्रुलाई ठगिन्छ । यसमा सम्बन्धीत निकायको ध्यान जाओस् ।”

उनले यस विषयमा सामाजिक संजालमार्फत् यात्रुहरुलाई सावधानीसमेत गराएका छन् । मगरले लेखेका छन्, “नेपाल काठमाडौंबाट दैनिक उडान हुने थाइ एयरवेजको बजेट एयरलाइन्स थाइ स्माइल एयरलाइन्स डब्लु ई–३२०’ बाट बैंकक स्वर्णभूमि इन्टरनेशनल एयरपोर्ट हुँदै कनेक्टिंग फ्लाइटको लागि ‘ट्रान्जि वा ट्रान्सफर गर्नुपर्ने यात्रीलाई विना अग्रिम सूचना ‘ट्रान्जिट भिसा’ चाहिने भनेर एयरलाइन्सको एयरपोर्ट चेकइन काउन्टरले बोर्डिङ पास नदिएर उड्नबाट बन्चित गर्ने गरेको मलगायत धेरै व्यक्तिहरुले दैनिक भोग्नुपरेको घटनाहरु देखिएको छ,” उनले लेखेका छन् ।

उनले यस्तै घटना हङकङ उड्ने ड्रागन एयरलाइन्स काठमाडौंले पनि गर्ने गरेको कुराहरु बाहिर आएको बताएका छन् । सामान्यतयाः अन्तराष्ट्रिय एयरपोर्टमा ट्रान्जिट एरिया’ बाहिर नजाने हो भने २४ घण्टा बिना रोकतोक बस्न पाइने ‘आइआटा’ को अन्तराष्ट्रिय नियमलाई पनि उल्लंघन हुने गरी अन्तिम घडीमा चालिने यो कदमले यात्रुको पुरै हवाई यात्रालाई असर परी समय र पैसा बर्बाद हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।

मगरले हवाई क्षेत्रकै बदनाम हुने गरी भएको यस्तो कार्यको अन्त्य गरी सम्बन्धित व्यक्तिलाई कानुनी कठघरामा ल्याउनसमेत माग गरेका छन् ।

कुवेत एयरको सास्ती

त्यसैगरी कुवेत एयरवेजबाट पनि सास्ति पाएको नेपाली यात्रुहरुले गुनासो गरिरहेका छन् । कुवेतबाट नेपाल आउने र नेपालबाट कुवेत जाने नेपाली यात्रुहरु कोही कुवेतको एयरपोर्टमै रातदिन बिताउनु परेको त कोही कुवेत उड्न भनेर काठमाडौं आएकाहरु काठमाडौंका होटलमा बसेर जहाज उड्ने दिन कुर्नुपरेको गुनासो गरेका छन् ।

नोभेम्बर १३ यता कुवेत एयरवेजको सबै फलाईट क्यान्सील वा सरेको हुँदा नेपाल जाने र कुवेत आउने धेरै यात्रुहरु मर्कामा परेको यात्रुहरुले गुनासो गरेका छन् ।

“१३ तारिक यता कुवेत एयरपाेर्टमै नेपाल जान हिँडेका यात्रुहरु अलपत्र परेर बसिरहेका छन् । उनीहरुसँग न फर्कनलाई रुम छ न खानलाई पैसा ! कुवेत एयरवेजले ७० किलो लगेज लैजानदिने आशले धेरै लगेज बांधेर गएका उनिहरुको सामान न अरु एयरवेजले बोकिदिन्छ न टिकट सुलभ तरिकाले पाइएको छ । तलब घर पठाईसकेका यात्रुहरु न यिनिहरुसँग अर्को टिकट काट्नलाई पैसा छ न एरवेजले समयमा रिफन्ड दिन्छ”, यात्रुहरुले गुनासो गरेका छन्, “काठमाडौंबाट कुवेत आउने यात्रुहरु होटलमा बस्नु परेको छ । यसले न कुनै अर्को विमान खोजेर पठाउँछ न पैसा समयमा रिफन्ड नै दिन्छ । एरवेजहरुले भाडा पनि मनोमानी तरिकाले बताएका छन् । श्रमिकहरुलाई हरेक ठाउँमा मात्र किन लाग्छ । सम्बन्धित निकायहरु यस बिषयमा किन मौन कही कतै कसैले आवज निकालेको पनि सुनिदैन ।” उनीहरुले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै भनेका छन् ।

कुवेतमा रहेका जयनारायण थारुसँग यस विषयमा कुरा गर्दा उनले यो समस्या नेपाल सरकारको सम्बन्धीत निकायले खोजी गर्नुपर्ने बताए । उनले प्रत्येक दिन कुवेतबाट नेपाल आउने कुवेत एयरको फ्लाइट क्यान्सील हुँदा धेरै नेपालीले दुःख पाएको बताउछन् । उनले आफुपनि टिकेटिङको काममा जोडिएकोले आफ्नो सम्पर्कबाट टिकट लिएकाहरुको कुवेत एयरलाइन्सबाट पैसा रिफन्ड गराएर अर्को जहाजबाट पठाएको बताए ।

“मेरो सम्पर्कबाट टिकट काट्नु भएका साथीहरुको पैसा रिफन्ड गराएर अल जजिराबाट नेपाल पठाउँदैछु”, उनले भने, “यहाँ समस्या हरेक दिन छ । १३ तारिख फ्लाइट भनेकालाई क्यान्सिल गरेर १५ मा बोलाउँछ, १५ बोलाएकालाई १६ मा बोलाउँछ । फेरि १६ मा फर्काएकालाई कुन दिन बोलायो भन्ने थाहा छैन । बिदामा जान लागेकालाई त फर्किएर कम्पनीमै जान सजिलो हुन्छ । जो पुनः नर्फिकिने गरी क्यान्सील गएका छन् उनीहरुलाई कहाँ बस्ने भन्ने समस्या हुन्छ ।”

उनले नेपाल सरकारको सम्बन्धीत निकायले यसबारेमा गम्भीर भएर कुवेत एयरलाइन्सका प्रतिनिधिहरुसँग कुरा नगर्दासम्म नेपालीहरुले यसरी नै दुःख पाउने बताए ।

अब समस्या आउँदैन– प्रवक्ता जगन्नाथ निरौला

यस विषयमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अव समस्या नआउने बताए । उनले भने, “कुवेत एयरलाइन्सले उडानका लागि अनुमति नलिकन टिकट काटेर मान्छे बोलाएको रहेछ । उसले सबै प्रक्रिया पूरा गरिसकेको छ अव समस्या आउँदैन ।”

त्यसैगरी नेपाल एयरलाइन्सले यात्रु अलपत्र पारेको विषयमा बारेमा स्पष्टीकरण सोधेर पत्र काटिसकेको बताए । “यात्रुहरुले प्राधिकरणमा पनि निवेदन दिनु भएको छ यसबारेमा पत्र काटेर सोधेका छौं । त्यसको जवाफ आउन बाँकी छ । यस विषयमा हामी गम्भीर छौं ।”

त्यस्तै, थाइ स्माइलका बारेमा उनले एयरलाइन्सले पहिल्यै जानकारी दिनुपर्ने बताए भने अल जजिराका बारेमा पनि गौतमवुद्ध विमानस्थलसँग कुरा गर्ने संसारन्युजलाई जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।