२० चैत, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले राजनीतिक र भौगोलिकरुपमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सिन्धुलीले गौरव र पहिचान स्थापित गरेको बताउनुभएको छ ।
पार्टीको सिन्धुली–उपत्यका सङ्घीय सम्पर्क मञ्चको शनिबार यहाँ भएको सम्मेलनमा उहाँले सिन्धुलीवासीले आगामी निर्वाचनमा राजनीतिक परिवर्तनको कार्यसूची, त्याग, तपस्या र बलिदानीका आधारमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेता गजुरेलले भन्नुभयो – “हिजो सरकार गठन हुँदै गर्दा प्रतिपक्षले लगाएका सबै आरोप खारेज हुँदैगएका छन्, पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले मुलुकभर बिजुलीले झिलीमिली बनाएको छ, यो अवस्थामा हुँदै गरेको निर्वाचनमा पार्टीभित्र पनि विगतका दुवै निर्वाचनको समीक्षा गरेर अघि बढ्न आवश्यक छ ।”
पार्टीका पोलिटब्युरो सदस्य महेश्वर दाहालले अग्रगामी, परिवर्तनकारी शक्ति एकाकार भएर निर्वाचनमा जाने वातावरण बनाउनु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
सम्पर्क मञ्चका अध्यक्ष गोपी माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका सिन्धुली जिल्ला प्रमुख राजन दाहालले स्थानीय तहको निर्वाचन हुनु भनेको पार्टीको एजेन्डा आफैँमा विजयी हुनु हो भन्दै यो निर्वाचनलाई लडाइँको मोर्चाका रुपमा हेरिएको छ भन्नुभयो ।