
काठमाडौं । मधेशलाई आफ्नो आधार क्षेत्र भएको बताउने माओवादी केन्द्र यसपटकको प्रतिनिधिसभा चुनावबाट भने नराम्रोसँग बढारिएको छ । प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले जित हात पार्न सकेनन् ।
प्रदेशका ३२ मध्ये ६ सीटमा मात्रै माओवादीको चुनाव चिन्ह लिएर उम्मेवार उठेका थिए । जसमध्ये माओवादी केन्द्रले एक सिट नेपाल समाजवादी पार्टीका उम्मेदवारलाई दिएको थियो । मधेशमा माओवादीले पार्टीको तर्फबाट उठाएका सबै उम्मेदवारले हार व्यहोेरेका छन् ।
र, अनौठो माओवादीको चुनाव चिन्ह लिएर लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव भने सर्लाहीबाट विजयी भएका छन् । सर्लाहीको क्षेत्र नम्बर २ बाट चुनाव लडेका उनले लोसपाका राजेन्द्र महतोलाई हराएका छन् । यादवले महतोलाई मात्रै हराएका छैनन्, मधेशमा माओवादीको चुनाव चिन्ह पनि जोगाएका छन् ।
मधेश प्रदेशमा माओवादीबाट धनुषा १, महोत्तरी १, सिरहा ३, रौतहट ३ र बारा २ बाट उम्मेदवार उठाएको थियो । जसमध्ये धनुषा १ मा नेता मातृका यादव जसपाका दीपक कार्कीसँग पराजित भए भने महोत्तरी १ मा नेता गिरिराजमणि पोखरेल एमाले नेतृ लक्ष्मी महतो कोइरीसँग पराजित भए । त्यस्तै, सिरहा ३ बाट उठेका विश्वनाथ साह एमालेका लीलानाथ श्रेष्ठसँग पराजित भए भने, बारा २ बाट उठेका शिवचन्द्रप्रसाद कुशवाहा जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भए ।
यस्तै, पार्टीभित्रकै असहयोगले रौतहट ३ मा माओवादीका रविन्द्र पटेल हारे । माओवादी केन्द्रले उम्मेदवार उठाउने र पछि प्रभु शाहलाई सहयोग गर्ने निर्णय गरेको थियो । उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिएनन् । रौटहट ३ मा माओवादीकै सहयोग पाएर एमाले छाडेका प्रभु शाह विजयी भएका छन् ।
प्रदेशसभातर्फ मुस्किलले जोगियो माओवादी
मधेशमा प्रदेशसभातर्फ भने माओवादी केन्द्रले केही उम्मेदवारलाई जिताएको छ । १५ क्षेत्रमा उम्मेदवार खडा गरेको माओवादीले ४ सीटमा जित हात पार्यो ।
माओवादी केन्द्रले महोत्तरी १ (२), सर्लाही ४(२), रौतहट ४(१) र पर्सा १(१)बाट जित हात पारेको छ । तर, सप्तरी १(१), सप्तरी २(२), सिरहा २(१), सिरहा ४(१), धनुषा २(२), महोत्तरी ४(२), सर्लाही २(१), बारा ३(१), बारा ४(१), पर्सा ३(१) र पर्सा ४(२)मा हार व्यहोरेको छ ।