
सेसेल्स । अफ्रिकाको सेसेल्समा काम गर्ने कम्पनीमै आत्महत्या गरेका रोल्पाका लिलमान थापाको परिवारलाई एनआरएनए सेसेल्सले आर्थिक सहयोग पठाएको छ ।
एनआरएनए सेसेल्सका अध्यक्ष मनोज वि.क का अनुसार गत अक्टोबर १२ का दिन हुनान् निर्माण कम्पनीको परिसरभित्रै आत्महत्या गरेका लुङग्री गाउँपालिका वडा न २ रोल्पाका ३२ वर्षीय थापा क्षेत्रीका नाबालक छोरा सुशान्त थापा क्षेत्रीका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग पठाएको हो ।
एनआरएनए सेसेल्सको पहलमा संकलन गरिएको उक्त रकम स्वर्गीय लिलमानका परिवारले सम्बन्धित स्थानीयतहमार्फत आर्थिक सङ्कलनका निमित्त गरेको अनुरोध पत्र एनआरएनए सेसेल्सले प्राप्त गरेपछि सहयोगको अभियान सञ्चालन गरि उक्त रकम संकलन गरिएको अध्यक्ष वि.कले बताए ।
उक्त रकम नाबालक छोराको नाममा सानिमा बैंकको खातामा पठाइएको वि.कले जानकारी दिए । उक्त बैंक खाताको संरक्षक नाबालक सुशान्तका आमा रिमा थापा क्षेत्री र काका घनश्याम थापा क्षेत्री रहेका छन् ।
उक्त रकम नाबालक सुशान्तले अवको १४ वर्षपछि मात्र प्रयोगमा ल्याउन मिल्ने गरि मुद्दतीमा राख्नका लागि एनआरएनए सेसेल्सले स्थानीय निकाय र नाबालक सुशान्तका परिवारसंग सहमति गरेर मात्र सहयोग रकम पठाएको छ ।
सो रकम एनआरएनए सेसेल्सको नेतृत्वमा सामुहिक संकलित रकम सिरूः ५२,८५८, अफ्रिका राहत कोषबाट प्राप्त अमेरिकी डलर – १,०००, पठाउदा लागेको सेवासुल्क वावत सी रुः १५० काटेर जम्मा नेरूः झन्डै ६ लाखको हाराहारीमा पठाइएको वि.कले जानकारी दिए ।
अध्यक्ष वि.कले आर्थिक सङ्कलनका निमित्त सहयोग पुरयाउने र आर्थिक सहयोग गर्ने सम्पूर्णमा संस्थाका तर्फबाट आभार व्यक्त गरेका छन् ।