
काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ भगवतीस्थानस्थित सडकमा बा.९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक २६ वर्षीय रवि घिमीरेको मृत्यु भएको हो ।
खोटाङ घर भई कपन मिलनचोकमा बस्ने घिमीरे दुर्घटनामा गम्भीर घाइते भएपछि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै टोखा नगरपालिका–६ ग्रिनल्याण्ड हरीयाली बस्ती नजिक सडकमा बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको हो ।
सोमबार राति भएको उक्त दुर्घटनामा नुवाकोट पंचकन्या गाउँपालिका–४ का कँडेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।