
काठमाडौं । नेप्सेमा सूचीकृत ३९० कम्पनीमध्ये हालसम्म ३४ कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कतिपय कम्पनीले साधारणसभा गरी लाभांश प्रस्ताव पारित पनि गरिसकेका छन् भने अन्य कतिपयले साधारण सभा गर्न मिति तोकेका छन् ।
हालसम्म ११ वाणिज्य बैंक, ६ हाइड्रोपावर, ५ उत्पादनमूलक, ३ विकास बैंक, ५ निर्जीवन बिमा, २ लघुवित्त, होटल र इन्भेष्टमेन्ट समूहका एक/एक कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
५ बैंकको बुक क्लोज हुन बाँकी
लाभांश घोषणा गरेका ११ वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक, एनसीसी र कुमारी बैंकले साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् भने ५ वटा बैंकले बुक क्लोजको मिति तय गरेका छन् ।
बैंक अफ काठमाण्डुले मंसिर २३ मा साधारण बोलाएको भए पनि बुक क्लोजको मिति तय गरेको छैन् । मेगा, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले भने अझै पनि साधारणसभाको मिति तय गर्न सकेका छैनन् ।
पुस ३ मा साधारण सभाको मिति तोकेको सानिमाले मंसिर १९ देखि बुक क्लोज गर्दैछ ।
सबै विकास बैंकका बाँकी
हालसम्म ३ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । गरिमा, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेपनि साधारणसभा भने बोलाउन सकेका छैनन् ।
तीन हाइड्रोको बुक क्लोज बाँकी
लाभांश घोषणा गरेको ६ हाइड्रोपावरमध्ये तीन कम्पनीले साधारण सभा गरी लाभांश पारित गरिसकेका छन् । लाभांश घोषणा गरेका अन्य दुई कम्पनीमध्ये माउण्टेन इनर्जीले मंसिर २७ मा बुक क्लोजको मिति तय गरेको छ भने युनाइटेड मर्दी एण्ड आर.बी. हाइड्रोले मंसिर १६ मा बुक क्लोजको मिति तय गरेको छ । विवादमा फसेको रिडि पावर कम्पनीले भने साधारणसभाको मितिसमेत तोक्न सकेको छैन ।
तीन उत्पादनमूलक कम्पनीका बुक क्लोज हुन बाँकी
उत्पादनमूलक कम्पनीमध्ये हालसम्म ५ कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये युनिलिभर नेपाल नेपालको मंसिर २० मा साधारणसभा हुँदैछ भने उसले मंसिर ४ मै बुक क्लोज गरिसकेको छ । त्यस्तै पुस २८ मा साधारणसभा बोलाएको नेपाल लुब ओएलले गत असोज १४ मै बुक क्लोज गरिसकेको छ ।
बोटलर्स नेपाल (बालाजु) र तराई अनि हिमालयन डिस्टिलरीको बुक क्लोज हुन बाँकी छ । साधारणसभाको मिति तय नगरेको बोटलर्स नेपाल बालाजु र तराईले पुस २० मा बुक क्लोज गर्दैछन् भने दुवै कम्पनीले साधारणसभाको मिति भने तय गरेका छैनन् ।
पुस २७ मा साधारणसभा बोलाएको हिमालयन डिस्टिलरीले पुस २० मा बुक क्लोजको मिति तय गरेको छ ।
सबै बीमा कम्पनीको बुक क्लोज हुन बाँकी
गत वर्षको मुनाफाबाट ५ निर्जीवन बिमा कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका ५ वटै कम्पनी (प्रिमियम इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, नेपाल इन्सुरेन्स, आइएमई जनरल इन्सुरेनस र युनाइटेड इन्सुरेन्स)ले साधारणसभा र बुक क्लोजको भने मिति तय गरेका छैनन् ।
दुई लघुवित्तको लाभांश घोषणा
हालसम्म लघुवित्त समूहका दुई लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव घोषणा गरेपनि दुवै कम्पनी साधारणसभा र बुक क्लोजको मिति तय गर्न सकेका छैनन् ।
होटल र इन्भेष्टमेन्ट समूह
हालसम्म एक/एक होटल र इन्भेष्टमेन्ट समूहका कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । होटल समूहको सोल्टी होटल र इन्भेष्टमेन्ट समूहको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । निफ्राले गत मंसिर १ गते नै बुक क्लोज गरिसकेको छ भने सोल्टीले पुस ७ मा बुक क्लोज गर्दैछ । बुक क्लोज गरेको निफ्राको साधारणसभा पनि भइसकेको छ भने सोल्टीले पुस २८ मा साधारणसभा बोलाएको छ ।