
अमेरिका । नेपाल आदिवासी जनजाति महिला महाससंघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ ।
कुस्मा सुर्यबंसीको संयोजकत्वमा गठन गरिएको उक्त तदर्थ समितिको सदस्यहरूमा कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।
फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच भएको एक भेटधाट र छलफल कार्यक्रमबाट उक्त निर्णय भएको थियो । तदर्थ समितिले छिटो भन्दा छिटो एक भेलाको आयोजना गरेर कार्यसमितिलाई पूर्णता दिने बताइएको छ ।
फिवनाको शाखा बिस्तारको यो परिकल्पना संस्था स्थापना अर्थात सन् २०११ देखि नै तय भएको थियो । बिबिध परिस्थितिका बाबजुद यो संकल्पले पहिलेपटक मूर्तरूप लिने प्रयास गरेको छ । आगामी दिनहरूमा अन्य बिभिन्न राज्यमा यसका शाखाहरू बिस्तार गर्ने संस्थाको कार्ययोजना रहेको छ ।
कार्यक्रम सफल पार्नेक्रममा न्यूयोर्कबाट संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङ र सकृय सदस्यद्धय शान्ति जिरेल र मच्छे गुरूङको सहभागिता थियो भने मेरिल्याण्ड र नूयोर्कबिचको पुलको काम संस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरले गरेकी थिइन् ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा नूयोर्कका प्रतिनिधीहरूले फिफ्ना के हो, किन गठन भयो, अहिले के कस्ता गतिबिधीहरू गरिरहेका छन् र भबिष्यमा यसले के कस्ता गतिबिधीहरू गर्नेछन् भन्ने बिषयमा प्रस्तुत गर्दै जिज्ञासुहरूको प्रश्नको उत्तर पस्केका थिए ।