जिल्ला निर्वाचन अधिकृत केशवसिंह भण्डारीले कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिमा दुई सय ८७ जना मतदाता शिक्षक खटाउने जानकारी दिनुभयो । मतदाता शिक्षकले मतदातालाई मतपत्र चिह्न, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम, मतपत्र पट्याउने लगायतका विषयमा जानकारी गराउने निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । “अहिले मतदाता शिक्षक छनोट कार्य भइरहेको छ,” उहाँले भन्नुभयो – “वैशाखको पहिलो साताभित्रै प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षक परिचालन गरिसक्छौँ ।”
नगरपालिकाका सामाजिक परिचालक, महिला स्वयम्सेवक, विद्यालयका पूर्वशिक्षक/शिक्षिकालाई मतदाता शिक्षकमा छनोट गरी प्रशिक्षण पछि कार्यस्थलमा खटाइनेछ ।
त्यसैगरी, निर्वाचनका लागि यहाँका नगरपालिका र गाउँपालिकामा गरी नौवटा निर्वाचन कार्यालय स्थापना गर्ने तयारीसमेत भइरहेको निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । “स्थानीय तह निर्वाचन कार्यालयका लागि नौजना निर्वाचन अधिकृत खटाइनेछ,” निर्वाचन अधिकृत भण्डारीले रासससँग भन्नुभयो – “निर्वाचन अधिकृत निर्वाचन आयोगले केन्द्रबाट परिचालन गर्नेछ ।”
दुई लाख ३० हजार मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी करिब एक लाखभन्दा बढी मतदाता भीमदत्तनगरपालिकामा रहेका छन् ।
नयाँ शक्तिको ज्ञापन
चुनाव चिह्नका लागि आन्दोलनरत नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरले आइतबार जिल्ला निर्वाचन कार्यालयमा मागसहितको ज्ञापन बुझाएका छन् । दलीय चुनाव चिह्न नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित निर्वाचन कार्यालयमा नयाँ शक्ति पार्टीका नेताले ज्ञापन बुझाएको जिल्ला निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।
“माग पूरा नभए भोलिदेखि कार्यालयमा धर्ना दिने भनेका छन्” – उहाँले भन्नुभयो ।