
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा ९माओवादी केन्द्र०सँग एकताको कुनै सम्भावना नरहेको बताएको छ । एसका महासचिव बेदुराम भुसालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका हुन् ।
दुई पार्टीबीच एकताको प्रक्रिया अगाडि बढीसकेको भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि आएपछि समाजवादीले विज्ञप्ति नै निकालेर प्रष्ट्याएको हो । भुसालले विज्ञप्तिमा भनेका छन्, “यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।”
भुसालले एकताको हल्लाको भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
“नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं”, विज्ञप्तिमा भनिएको छ, “तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।”