
काठमाडौं । नेकपा (एमाले)भित्र कांग्रेससँग सत्ता सहकार्य गरेर अगाडि बढ्नुपर्ने छलफल सुरु भएको छ । कांग्रेस इतरको शक्तिसँग मिलेर सत्ता निर्माणको छलफल चलिरहेको बेला एमालेभित्रको एउटा समूहले कांग्रेससँग सत्ता सहकार्य सबैभन्दा उत्तम हुने भन्दै छलफललाई अगाडि बढाएको हो ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका पूर्वमुख्यमन्त्री शेरधन राईले पनि तत्कालै कांग्रेससँग सत्ता सहकार्यको छलफल अगाडि बढाउन सुझाएका थिए । कांग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै गरेर जानुपर्ने मत पनि जनताबाट आएको जिकिर उनकाे छ ।
ओलीसँगको भेटपछि राईले देशको स्थिरताका निम्ति पनि कांग्रेस र एमालेबीच नै सहकार्य आवश्यक रहेको कुरा बताएका छन् । ओलीसँग भेटपछि सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं ।”
एमालेभित्र उनीसँगै अन्य नेताहरुले पनि कांग्रेससँग सहकार्य गर्नुपर्ने धारणा राखिरहेका छन् । धेरै दलहरु मिलेर सत्ता चलाउनेभन्दा मुख्य दल मिलेर सत्ता चलाउँदा देशले पनि गति लिने भनाई उनीहरुको छ ।
तर, कांग्रेसले भने एमालेसँग सहकार्यको विषयलाई त्यति ध्यान दिएको छैन् । कांग्रेसको शीर्ष नेतृत्वले प्राप्त जनमत गठबन्धनकै कारण प्राप्त भएको भन्दै एमालेसँग सहकार्य गर्नु गलत हुने निष्कर्ष निकालेको छ ।