
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अगाडि बढ्ने जनाएको छ ।
शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारीहरुको बैठकले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समिक्षा लगायतका विभिन्न विषयमा छलफलका लागि बसेको पदाधिकारी बैठकले समग्रमा चुनावको सबै परिणाम आएपछि पुनः बस्ने पदाधिकारीको बैठकले समिक्षा गर्ने तथा गठबन्धन नछोड्ने निर्णय गर्दै सरकार गठनका लागि अन्य विकल्प पनि खुला गर्ने निर्णय गरिएको महराले संचारकर्मीहरुलाई जानकारी दिए ।
‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’ उपाध्यक्ष महराले भने ।
बैठकमा नेताहरूले निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी समेत गरेका थिए ।