Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

‘जनतासँग गठबन्धन’ र प्रचण्डलाई सुझाब



२०७९ मंसिर १६ गते बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर २८ बुँदाको सुझावपत्र दिएपछि देश तथा विदेशमा रहनुहुने मित्र तथा कामरेडहरुले त्यसभित्रका अन्तर्वस्तुका बारेमा निकै धेरै जिज्ञासा राख्नुभएको कारण म जस्तो सामान्य कार्यकर्ताले अध्यक्षलाई बुझाएको सो सुझावपत्रलाई आवश्यक सम्पादनसहित मात्र यहाँ उल्लेख गरेको छु ।

मेरो सुझावको पहिलो च्याप्टरमा २०७९ को स्थानीय तथा प्रदेश र संघको निर्वाचनको समिक्षाका बारेमा उल्लेख छ । १८ घण्टासम्मको लोडसेडिङ्ग हटाएको,राजधानीलगायत देशका धेरै सडक फराकिलो बनाएको, सरकारी सम्पत्तिको किफायती र सुरक्षामा ध्यान दिएको, सन्तुलित विकासका लागि ध्यान दिएको, गौरवका योजनाहरुको श्रृंखला तयार भएको, सुशासन बहालीलाई प्राथमिकतामा राखेको, दलित, जनजाती, महिला तथा उत्पीडित समुदायका हितमा कानुन बनाएको, समावेशी प्रवाहिकरण गराएको, राजनैतिक स्थिरताका लागि अरुको नेतृत्व सहने संस्कृति देखाएको लगायतका विशेषता र उपलब्धि हुँदा हुँदै पनि सम्पन्न निर्वाचनमा माओवादीलाई मतका हिसाबले पीडा थपिएको छ । राजनीति नै जनताप्रति समर्पित भनिँदा भनिँदै पनि जनताबाट विश्वास जित्न नसकिएको अवस्था देखापरेको, वैचारिक तथा सैद्धान्तिक प्रश्न र राष्ट्रियतासँग जोडिएका सवालहरुमा भएका कमजोरी पनि यसमा जिम्मेवार छन् । साथै, उम्मेदवार चयनमा पारदर्शी प्रक्रियाको अभाव पनि यस्तो परिणामको कारण रहेको छ । रुकुम, र नवलपरासीलगायतमा पार्टीको आधिकारीक उम्मेदवारका विपक्षमा पार्टीकै जिम्मेवार कमरेडहरु स्वतन्त्र उठेर र जितेका घटनाक्रमले उम्मेदवारी चयनमा भएका जवर्जस्ती केही प्रष्ट देखिएको छ । प्रतिगमनका विरुद्धमा अहिले गठबन्धनको राजनैतिक बाध्यता रहेपनि पहिला एमालेसँगको परिनर्भरता र पछि कांग्रेससँगको सहयात्रालाई वैतरणी तर्ने माध्यम ठानेर आफनो पंक्ति दुरुस्त नपार्नु पनि परिणामको अर्को कारण रहेको, निर्वाचनदेखि निर्वाचनसम्मको चिन्ता लिँदा र गठबन्धन गर्दा पनि चुनावी परिणाम यो हुनु दुःखद् नै भएको बताएको छु । निर्वाचन प्रणाली खर्चिलो हुनु, उम्मेदवार चयनमा समस्या पैदा हुनु, गठबन्धनको भरपर्नु र निर्वाचनमा हुने हरेक दलालीहरुलाई प्रतिरोध गर्न नसक्नु माओवादीका मुख्य समस्या रहेपनि आन्दोलनको बाँकी कामका लागि मतदान गर्ने करिब १२ लाख हाराहारीका मतदाताको भाव समातेर विश्वास प्रकट गर्नेहरुसँग अनुग्रहित हुदै त्यसका बिचबाट नयाँ उभार सृजना हुनसक्ने अवसरलाई सही सदुपयोग गर्नु बान्छनीय भएको अनुरोध गरेको छु ।

अध्यक्ष कमरेड प्रचण्डलाई दिएको सो सुझावपत्रमा मैले पार्टी र आन्दोलनका सबलताहरु उल्लेख गरेको छु । विशिष्ट राजनैतिक पहिचान बोकेको माओवादी आन्दोलनले नेपाली धर्तीमा मालेमावाद र प्रचण्डपथ (मेरो प्रस्तावमा नेपालपथ)को विचारश्रृंखला विकास गरी यसको रक्षा, प्रयोग र विकासको अभ्यासका क्रममा नेपाली मौलिकताको गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धका माध्यमबाट सामान्तवादलाई कमजोर बनाउँदै, अन्तरबिरोधहरुमा निशाना साँध्दै, जनयुद्ध र जनआन्दोलनको कलात्मक समायोजनबाट लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको मुख्य योगदान माओवादी आन्दोलनकै रहेको, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता तथा राज्यको समावेशी प्रवाहिकरण यसैको योगदान भएको, संविधानमा समाजवादउन्मुख राज्यप्रणालीको कुरा लेखाएर वैज्ञानिक समाजवादको गन्तव्यतर्फ ढोका खुला गराउने काम पनि यही आन्दोलनले गरेको हो । लक्ष्यका लागि लचकताको पराकाष्ठामा बहनसक्ने र देशको राजनीतिलाई अहिलेसम्म आन्दोलनको वरीपरि नै घर्षण गराइरहने खुबि भएको प्रचड लगायतको नेतृत्वको टिम तथा नेतृत्वको नियतप्रति शंका नगरी सघाईरहने सयौं कार्यकर्ता तथा लाखाैं मतदाता र शुभेच्छुक यो आन्दोलनको ठूलो सम्पत्ति हुन् । वर्ग निष्ठामा प्रतिबद्ध ठूलो संख्याका क्रान्तिकारी कुनै दलभित्र अझै छन् भने अहिलेसम्म पनि माओवादी केन्द्रमै बढी भएको अर्थात् छोटो भाषामा भन्दा माओवादी आन्दोलन नै अझैपनि पनि आन्दोलन र परिवर्तनको मुख्य ब्राण्ड रहेको कुरा पनि उल्लेख गरेको छु ।

माओवादी आन्दोलनका यी सबलतासँगसँगै हुर्किइसकेका दुर्बलताहरु पनि मैले समावेश गरेको छु । आन्दोलनभित्र बढेका विकृति, त्यसबाट नेताहरु बिचमा बढेका शंका र अविश्वास तथा फुट र विभाजनबाट क्रान्तिकारी जनसमुदायमा परेको ठूलो निराशा नै मुख्यरूपमा हाम्रो अहिलेको दुर्वलता रहेको, विभाजनको मनोविज्ञानसँगै स्वभाविकरूपले बढेको प्रतिक्रियावादीहरुको सल्लाहलाई सरकार निर्माणको अंकगणीतसँग मात्रै जोडिएको, लचकताका नाउँमा सैद्धान्तिक अडान छाड्दै गएका दृश्य सम्प्रेषण भएको छ । विचारको रक्षा, प्रयोग र विकासको विषय प्राथमिकतामा नपरेको, वर्गपक्षधरता प्रष्टयाउन नसकिएको, कुर्सीका लागि जतिबेला पनि र जोसँग पनि निर्वस्त्र भएजस्तो र लम्पसार परेजस्तो देखिएपछि जनताको कुरीकुरी बढ्दै गएको, सरकारको समिकरणका नाममा राष्ट्रियता, जनतन्त्र र जनजिवीकाका अहम् प्रश्नमा ध्यान नदिएको, एमसीसी, एसपीपी र नागरीकता बिधेयकमा सही अडान कायम नभएको र अन्तर्य सम्प्रेषण गर्न नसकिएको, देश र जनताको हितभन्दा नेताहरु आफ्नो परिवार र गुटको कल्याणमा लागेको भन्ने जनअनुभुति व्यवहारमा खण्डित गर्न नसकिएको, पार्टीभित्र रचनात्मक र मित्रवत आलोचनामा पनि शत्रुवत व्यवहार बढाइने गरेको पनि समस्या छन् ।

माओवादी आन्दोलन गर्न सक्षम देखिएपनि  परिवर्तन व्यवस्थापनमा कौशलता विकास नभएको देखिएको छ । पार्टी गठन र पुनर्गठन गर्न सकेपनि सुदृढ र एकताबद्ध पार्टी टिकाउन नसकेको तितो यथार्थ हामीसँग छ । नेताहरु नीजि स्वार्थमा केन्द्रीत भएर आफू र आफ्नालाई पद, प्रतिष्ठा र सुबिधा थोपर्दा मूल्य, मान्यता र सभ्यताको घीनलाग्दो उल्लंघन भएको, स्वयम् र आलोचनात्मक चेतबाट विपरितको एकत्वलाई स्वीकार नगरिएको पाइन्छ । वर्षौंसम्म पनि गुटगत धङ्धङी तोड्न नसकिएको, चाकडी, चाप्लुसी र भद्धा कर्मचारीतन्त्रीय संस्कार जब्बर पारिएको, आफूसँग विद्रोह गर्ने सयांैलाई पनि अवसरवादी भनेर घचेट्ने, पेल्ने, ठेल्ने गरिएको तर, प्रतिक्रियावादी समूहबाट एकजना पसेर लम्पसार गर्नासाथ अस्वभाविक दज्र्यानी दिने गरिएकोे, आधारभूत वर्गको सेवा गर्छु भनेर प्रतिबद्धता जनाउने तर, शहरमा बसेर दलाल पुँजीवादी रवैया बढाउने काम भएको मात्र नभै त्यसैको पक्षपोषण गरिएको, निश्चित नेताहरु धनी बन्दै गएको तर,  हजारौं कार्यकर्ता तथा शहिद, बेपत्ता परिवार, घाइते योद्धा र लाखौं जनताको बेहाल बढ्दै गएको, आफ्ना स्वार्थको प्याकेजलाई राजनैतिक यात्राको दस्तावेजीकरणको प्रयास हुँदै आएको, व्यवहारबाटै जनतालाई निराशामा धकेलीएको, पार्टीभित्र कोही कामै नपाई तड्पिनुपर्ने स्थिती रहेको तर, कसैलाई भ्याइ नभ्याइ बनाइएको, एउटै वंश, एउटै परिवार र एउटै व्यक्ति हालीमुहाली हुने पुरानो सामन्ती प्रवृतिलाई भत्काउन नखोजीएको, नेतृत्व सधैँ विचार र सिद्धान्तभन्दा माथि बस्न रूची गरेको तथा आफ्नो पंक्तिलाई भेडाहरुको बथान बनाउने प्रयासलगायतका नीति विपरितका परिदृश्यहरु अहिलेपनि आन्दोलनको दुर्बलताका कारण भएको कुरा मैले उल्लेख गरेको छु ।

यी र यस्ता दुर्बलताका बाबजुद पनि नेकपा (माओवादी केन्द)का सम्भावना निकै रहेको मैले उल्लेख गरेको छु । आफ्नो मिशन र लक्ष्यका लागि हँदै लचक हुनसक्ने र देशको राजनीतिलाई आफ्नो वरीपरि नै घुमाइरहनसक्ने अध्यक्ष कमरेड प्रचण्डलगायतको नेतृत्वको टिम देशको नेतृत्व लिन अहिलेपनि तयार रहेको स्थिति हुनु, त्यस्तैगरी लक्ष्य प्राप्तिका लागि नेतृत्वलाई अविच्छिन्न सघाइरहने हजारौं कार्यकर्ताको फर्मेशन माओवादीमै हुनु, वर्ग निष्ठामा प्रतिबद्ध ठूलो संख्याका क्रान्तिकारी अहिलेसम्म पनि माओवादी केन्द्रमै बढी भएका कारण माओवादी आन्दोलन अझैपनि आन्दोलन र परिवर्तनको मुख्य ब्राण्डका रूपबाट टसमस हुन नपर्नुजस्ता तथ्यले पनि नेकपा (माओवादी केन्द्र)अझै सम्भावना बोकेको र थप परिवर्तनको मुख्य राजनीतिक शक्ति बन्ने आधारहरु देखिएको कुरा राखेको छु ।

प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा उल्लेख भएको समाजवाद निर्माणको आधार बनाउने वैधानिक बाटो यसैको नेतृत्वमा कोरिएको, कयाैं माओवादी नेता र कार्यकर्तामा विकृति र असहज दृश्य हुँदाहुँदै पनि परिवर्तनको मसिहाका रूपमा अहिलेसम्म पनि माओवादी नै स्थापित रहेको, भोलीको वैज्ञानिक समाजवादतर्फको यात्रामा प्रतिबद्ध पंक्ति पनि माओवादीभित्रै बढी रहेको कुरा पनि त्यसमा परेका छन । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालमा अडीग रहने तथा देश, जनता र माटोलाई माया गर्ने सबैभन्दा ठुलो संगठित शक्ति त्यहिंभित्र रहेको, नेपालको समृद्धिको सपना साकार पार्न सक्ने विशिष्ट राजनैतिक पहिचान बोकेको यो शक्तिप्रति लाखाैं जनताको भरोसा अझै रहेको तथा यो तागतलाई ठिक ढंगले परिचालीत गर्नसके माओवादी आन्दोलन मात्र बौरिने छैन, देशले अवस्था परिवर्तनको बाँकी कार्यभारमा सकारात्मक फड्को मार्नेछ भन्ने कुरामा मैले धारणा राखेको छु । माटो र हावापानीको व्यवसायीक प्रयोगमार्फत उत्पादन, आत्मनिर्भरता, स्वाधिनता र समृद्धिको जग बसाल्ने अठोट भएका कार्यकर्ता कतै छन् भने अहिलेपनि माओवादीभित्र नै बढीको संख्यामा रहेकाले यो शक्तिको अधिक सम्भावना रहेको कुरा मैले उल्लेख गरेको छु ।

देशलाई वैज्ञानिक समाजवादको मार्गमा लैजाने र समृद्धिको जग खन्ने सबैभन्दा ठूलो फौज भएको नेकपा (माओवादी केन्द्र) का व्यापक सम्भावना हुँदाहुँदै पनि यसका सामुन्ने चुनौतीका चाङहरु भएका कुरा मैले सुझावपत्रमा राखेको छु । माओवादी आन्दोलनभित्र हुर्केका र बढेका विकृतिको नियन्त्रण, नेताहरु बिचमा बढेका दम्भ, अहंकार र स्वार्थ तथा त्यसबाट उत्पन्न शंका, अविश्वास तथा फुट र विभाजनबाट क्रान्तिकारी जनसमुदायमा बढेको डरलाग्दो निराशा अहिलेको मुख्य चुनौती एकातिर छ भने अर्कातिर संविधान र निर्वाचनको वैधानिक बाटोमा प्राप्त पछिल्ला हैसियत र विभाजनको मनोविज्ञानसँगै स्वभाविकरूपले बढेको प्रतिक्रियावादीहरुको सल्वलाहट पनि अहिले चुनौती नै बनेर ठडिएको छ ।

चुनावदेखि चुनावसम्ममात्रको व्यस्तता, सरकार निर्माणको अंकगणीतसँग मात्रै जोडिएको राजनैतिक कार्यक्रम र लचकताका नाऊँमा सैद्धान्तिक अडान समेत हराएजस्तो देखिने घटनाक्रमले पनि राजनैतिक रूपान्तरणका लागि चुनौती थपेको, सिद्धान्तप्रतिका निष्ठामा आएको ह्रास, विचारको रक्षा, प्रयोग र विकासको विषय तपसिलमा पारिएको यथार्थता र वर्गपक्षधरता प्रष्ट्याउन नसकिएको अवस्था र जटिलता पनि अबको यात्रामा चुनौती नै बनेर उभिएको, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका अहम् प्रश्नमा ध्यान नदिने संस्कृतिमा बढोत्तरीसँगै मनशाय सम्प्रेषण गर्न नसकिएको वर्तमान अवस्था र अन्यौलता पनि अग्रगमनको थप यात्रामा चुनौती नै बनेको, नीजि स्वार्थमा केन्द्रीत भएर आफू र आफ्नालाई पद, प्रतिष्ठा र सुबिधा थोपर्दा मूल्य, मान्यता र सभ्यताको खिल्लीले हद पार गरेपछि चुनावी प्रतिक्रियाका रूपमा मिसिन पुगेको जनमत पनि अर्को चुनौती बनेको, वर्षौंदेखि चल्दै आएको गुटगत अराजकताको नकरात्मक प्रभावसँगै चाकडी, चाप्लुसीमा आधारित लम्पसारतन्त्रको घेराबन्दी पनि अबको यात्रामा चुनौती बनेको, अरुको सहयोगमा अस्तित्व धानेर जीवीकोपार्जन गर्न चाहाने परजीवी चिन्तनको रूपान्तरणका लागि वर्ग निष्ठामा आधारित योजना र कार्यक्रमको तय गर्नु पनि अहिलेको चुनौती भनेर किटान गरेको छु । पार्टी, मोर्चा र जनसंगठनहरुलाई विधि, नीति र पद्धतीमा चलाउनुपर्ने, आफ्नै धरातलमा खुटटा टेकेर अघि बढनुपर्ने, भूँइमानिसका प्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने, परिवार र सम्पतिप्रतिको सही बुझाई र आचारसंहिताको पालना हुनुपर्ने तथा जीवनको पारदर्शिता र सरलता सम्प्रेषण हुनुपर्ने तथा जनजीवनको सहजीकरणका लागि जनतामा सेवा सुविधा पु¥याउन दत्तचित्त हुनुपर्ने जस्ता अहिलेका आवश्यकता पुरा गर्न पनि नेतृत्वदेखि सबै सदस्यसम्मको रूपान्तरण हुन जरुरी रहेको भन्दै बिग्रीइसकेको आनीबानी रूपान्तरण अहिलेको जल्दोबल्दो चुनौती बनेको उल्लेख गरेको छु । रूपान्तरणको यो अनिवार्य कोर्षबाट बहाना बनाएर नभाग्ने हो भने चुनौतीहरु अवसरमा बदल्न सहजै सकिन्छ भन्ने कुरामा मेरो जोड रहेको छ ।

योसँगै मैले पार्टी सशक्तिकरणका लागि दस्तावेजमै प्रष्ट पार्नुपर्ने केही कुराहरु अन्तर्गत परिवर्तन व्यवस्थापनको विषयमा समाजशास्त्री, मानवशास्त्री र विषयगत विज्ञसमेतको कार्यशालाबाट यसलाई मुर्त पार्दै अहिलेसम्म भएका कमजोरी र अब गनुपर्ने योजना प्रष्ट हुनुपर्ने, आफैलाई बदल्ने र दुनियाँलाई बदल्ने विषय धेरै पटक भनिदै आएकोले अब व्यवहारमै लैजाने ठोस र विश्वसनीय आधार अध्यक्षसहित नेतृत्वबाट मूर्तरूपमै सार्वजनिक हुनुपर्ने, ‘समाजवाद उन्मुख संक्रमणकालीन कार्यनीति’को अवधारणालाई संक्रमणकालको वर्तमान परिभाषासहित समाजवादउन्मूख पदावलीको थप व्याख्या गर्नुपर्ने, दस्तावेजमा उल्लेखित ‘आन्दोलनमा सहयात्री बनाइएको पँुजीपतिवर्गको एक तप्का उपलब्धि नष्ट गर्ने बाटोमा’ भन्ने कुरामा राप्रपा, कांग्रेस र एमालेको भूमिका प्रष्ट उल्लेख गर्नैपर्ने खाँचो छ । सबै समूहभित्रका देशभक्त, इमानदार तथा समाजवादी र प्रगतिशिल सोचका नेता कार्यकर्तासँग मोर्चा नजिक पार्दै विभिन्न क्रान्तिकारी समूहसँग एकताको वातावरण बनाउने कुरामा जोड दिइनुपर्ने, सामान्य सुधारका कामसमेत गर्न नदिएको वर्तमान परिप्रेक्षमा ‘शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण गर्न सकिने परिस्थिती छ’ भन्ने दस्तावेजमा लेखिएको कुरा सैद्धान्तिक हिसाबले नै गलत रहेकोले ‘शान्तिपुर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट मात्र समाजवादको आधार निर्माण गर्न सकिने परिस्थिती नरहेकोले वर्ग संघर्षका विभिन्न तरिकामा ध्यान दिइरहनु उत्तिकै जरुरी छ’ उल्लेख गरिनु आवश्यक छ ।

अध्यक्ष कामरेड प्रचण्डले चुनावको मुखमै आएर ‘चुनाव पछि सडक संघर्ष चर्काइने’ भनेको मर्म योजनामा देखिनुपर्ने, हामीले जोड दिन खोजेको ‘समाजवादउन्मूख समृद्धि’ भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति र सामाजिक न्यायसहित राष्ट्रिय पुँजीकाे विकास प्रक्रियालाई दस्तावेजमा जोडिए पनि सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास हुनका लागि दलाल पुँजीको नियन्त्रणका विषयमा प्रष्ट गराउनुपर्ने, विज्ञान तथा सुचना प्रबिधिको चमत्कार, रोबोटीय युगको हुंकार र वित्तिय पुँजीको चक्रलाई राष्ट्रिय पुँजीनिर्माणमा उपयोग गर्ने अवसरलाई उत्तिकै ध्यान दिइनुपर्ने बाहेक खेतका गरा, बारीका पाटा, कान्ला र भीर (भीरमा समेत मौरी पाल्न सकिने) गरी सस्तो दाममा बाहिरिएका बलिया पाखुराको उपयोगमा पनि हाम्रो ध्यान जान जरुरी छ भन्ने भावमा विशेष व्याख्या हुनुपर्ने कुरा सुझावमा समेटेको छु ।

पुँजीको न्यायिक वितरणबिना समाजवादको कल्पना गर्न सकिँदैन, स्वाधिन पुँजीबिना न्यायीक वितरण सम्भव नै छैन, आत्मनिर्भरता बिना स्वाधिन पुँजी बन्नै सक्दैन, उत्पादन बिनाको आत्मनिर्भरता सोेंच्न पनि सकिँदैन, उत्पादनमैत्री वातावरण बिना उत्पादन हुनै सक्दैन, नीतिनिर्माण तहमा रहनेहरुले यसको श्रृंखला नबुझेसम्म उत्पादनमैत्री वातावरण नै बन्दैन’ भन्ने कुरा पार्टीको पंक्तिमा मनन् गराउनु पर्ने, अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया’ लाई संक्षिप्तरूपमा उल्लेख गरिनुपर्ने, धर्म, संस्कार, संस्कृति र सामाजिक चेतना सम्प्रेषणमा समाजवादी मान्यता ख्याल गरिनुपर्ने र जनतासँग नजुधीकन सम्मानका साथ व्यवहारबाट रूपान्तरण गर्ने माओवादी सभ्यता व्यवहारबाटै देखाउने कुरो प्रष्ट हुनुपर्ने कुरा पनि बुँदामा समेटेको छु ।

यसैगरी, वर्तमान कठिन परिस्थितिका बावजुद पनि अन्तर्राष्ट्रिय अभियान अघि बढाउन हाम्रो पहल र प्रक्रिया जारी रहने तथा त्यस प्रकारको सम्भावनाका लागि सबै भाइचाराहरुसँग सम्पर्क चुस्त पार्ने कुरामा प्रतिबद्ध हुनै पर्ने, साम्राज्यवादको दोहोरो चरित्रको भण्डाफोर गर्ने कुरा सही भएपनि साम्राज्यवाद विरोधी लडाईंका लागि विभिन्न प्रकारका मोर्चा बनाउने कुरा उल्लेख गरिनु पर्ने, राष्ट्र संघ तथा सोअन्तर्गतका विभिन्न निकायबाटै गरिब देश र उत्पीडीत समुदायका पक्षमा आवाज बुलन्द पार्ने प्रयास गरिरहनुपर्ने, अन्य क्षेत्रीय र मौलिक संगठनहरुका बिचमा आवाज उठाउन नछाड्ने, प्रगतिशिल शक्ति र उत्पीडित समुदायका बिचका विभिन्न मोर्चाहरुमा प्रवेश गरेर साम्राज्यवादको भण्डाफोर गर्ने, विचार मिल्ने कम्युनिष्ट शक्तिहरुसँग थप सहकार्य गर्दै सबल कम्युनिष्ट अन्तराष्ट्रिय निर्माणको प्रयास गर्दै साम्राज्यवाद विरुद्ध रणनीति बनाउनमा ध्यान दिनुपर्ने कुरा पनि सुझावमा उल्लेख गरेको छु ।

उत्पादन र विकास निर्माणका कामबारे गत महाधिवेशनमा ल्याइएका आठ योजना र कार्यक्रमलाई कार्यान्वयनको तहमा लैजान ठोस र मुर्त खाका जरुरी भएकोले जल, जमिन, जंगल जडिबुटी, जलवायु जनावर, जनशक्ति र जराजुरी अर्थात ‘अष्ट ज’ को पहिचान र समन्वयमा ध्यानदिँदै माटो र हावापानीको व्यवसायीक प्रयोगमार्फत रोजगारी, उत्पादन र आत्मनिर्भरता बढाउने सोचको कार्यान्वयनमा जानुपर्ने खाँचो छ । हाम्रो नेतृत्वमा रहेका पालिका सरकारमार्फतको सहकारी, त्यो नसके सर्वपक्षीय सहमतिको सहकारी तथा त्यो पनि नभए हाम्रै पार्टी सदस्य र समर्थकको सहकारी निर्माणलाई क्रमशः प्राथमिकतामा राखेर प्रयास र अभ्यास अघि बढाउनुपर्ने आवश्यकता छ । सहकारीमार्फत पालिकाका वार्ड र टोलहरुमा उत्पादन सम्भावना (माटो जाँच र भौगोलिकता) अध्ययन गराउने, प्रत्येक घर धुरीमा पुगेर ‘मेरो घरबारी, आफ्नै सहकारी’बारे जनतालाई सुसुचित पार्ने, बाँझो राखेर खेर गएको जग्गा वा उत्पादन लागत पनि नदिएको अवस्थामा छलफल चलाउँदै सहकारीले जग्गा लीजमा लिने कार्यक्रम अघि बढाउने, पालिकाको प्रत्येक वडामा शुरुमा कम्तिमा पाँच जना (विदेशबाट सीप र ज्ञान सिकेर फर्केका तथा गाउँमै केही गरौं र गर्नुपर्छ भन्ने ध्येय राखेकालाई प्राथमिकता दिने) कार्य आवश्यक छ ।

त्यस्तै, युवा जनशक्ति खोजेर गाउँको सम्भावनाका बारेमा ओरियन्टेशन दिने, सर्वेको प्रश्नाबली तयार गरी छानिएकालाई केही दिन सर्वेको काममा लगाउने, जग्गा भाडाको कार्यविधि, रोजगारीको कार्यविधि, यान्त्रिकीकरण, उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मको व्यवस्थापन तयारी गर्ने, यो अभियानलाई मूर्त बनाउन र एकरूपता दिन तत्कालै एउटा केन्द्रीय कार्यशालाको आयोजना गर्नेलगायतका सुझाव दिएको छु । यसैगरी पार्टी र जनसम्बन्धबारेको सुझाबमा पार्टीको आफ्नै आधिकारिक वेबसाइट सञ्चालन गर्ने तथा अन्य सामाजिक सञ्जालहरु निर्माण गरी राख्न मिल्ने कुरा तत्कालै अपडेट गर्ने, अध्यक्ष प्रचण्डसँगको भेटघाटमा गुनासो आउन नदिन सचिवालय सञ्चालन कार्यबिधि बनाउने, अन्य नेताहरुको सचिवालय पनि चुस्त बनाउने, सचिवालय संचालनको दक्षता भएका जनशक्ति निर्माण गर्ने, भेटघाटसम्बन्धि आचार संहिता बनाउने, सचिवालयबाट गर्न सकिने कामहरु सम्पादन गरिदिने र भेटघाटको समय कम पार्न प्रयास गर्ने, वेबसाईट, संजाल, इमेल, फोन र एसएमएसमार्फत भेटघाटको अनुरोध गर्न मिल्ने बनाउने र सम्बन्धितलाई खबरको व्यवस्था गर्ने, सबै तहका समितिहरुले जनसरोकारका विषयसहित वर्षको दुई पटक ‘जनतासँग पार्टी’ वा अरु कुनै नाउँमा कार्यक्रम आयोजना गर्नुपर्ने, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनसेवी कौशलताका आधारमा जनताले मूल्यांकन गर्ने भएकाले सबै तहको राजकीय जिम्मेवारीमा रहेका जनप्रतिनिधि तथा अन्य जिम्मेवार कमरेडहरुलाई संहितामा सघाउन तथा मर्यादा बढाउनका लागि सहयोग पु¥याउन पार्टीका तर्फबाट सबै तहमा संयन्त्र बनाउन जरुरी भएको कुरा उल्लेख गरेको छु ।

यसैगरी, पार्टी संरचनाबारेको सुझावमा पार्टी संरचनाको सबै तहमा ७५ प्रतिशत निर्वाचित हुने तथा मापदण्ड, विधि र प्रक्रियाका आधारमा २५ प्रतिशत मनोनीत गराइनु पर्ने, बढीमा ९९ जनाको केन्द्रीय सदस्य, बढीमा ९९ जनाको केन्द्रीय सल्लाहकार तथा बढीमा ९९ जनाको वैकल्पिक केन्द्रीय सदस्य बनाइ त्यसको एक तिहाईमा आधारित अन्य आन्तरिक संरचनाहरु बनाउनु पर्ने हुन्छ । प्रदेशहरुमा पनि बढीमा ९९ जनाको प्रदेश समिति बनाई चुस्त पारिनु पर्ने, जबस मोर्चाका पदाधिकारी तथा समितिहरुको पार्टी हैसियत (मानार्थ) तोक्ने तथा पार्टीका सम्मेलन र महाधिवेशनमा सम्बन्धित संगठनको प्रभाव हेरेर कम्तिमा ५ देखि बढीमा १० जना प्रतिनिधि सहभागी गराएर अपनत्व दिईनुपर्ने सुझाव पनि राखेको छु ।

यसैगरी जिम्मेवारी बारे भन्ने उपशीर्षकअन्तर्गत पार्टी र जबस मोर्चामा समेत कडाइका साथ एक व्यक्ति एक कार्यकारी जिम्मेवारी लागु हुनै पर्ने, एउटा पद वा जिम्मेवारीको बढीमा दुई कार्यकाल तोकिनुपर्ने, नाता, गुट वा चाकडीका आधारमा एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिँदा सही कार्यसम्पादन र परिणाम नआएको दृश्टान्त छर्लङ्ग भएकाले कसैलाई केही न केही, कसैलाई भ्याई नभ्याई अवस्था रहन नदिने, कसैले महत्वपुर्ण राजकीय जिम्मेवारी पनि पाउने र पार्टीको विशिष्ट जिम्मेवारी पनि उसैलाई हुने अवस्थाको अन्त्य गरी जिम्मेवारी विभाजनमा सन्तुलन नीति अख्तियार गर्नुपर्ने सुझाब दिएको छु । महत्वपुर्ण कार्यकारी जिम्मेवारी लिएका जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारी मानार्थ बनाउदै अरुलाई पार्टी जिम्मेवारीको अनुभूत गराउनु पर्ने, पार्टीभित्रको जिम्मेवारी र राजकीय कामको अवसरमा न्याय वहाली गर्न सफ्टवेयर प्रणाली लागु गरिनुपर्दछ । पार्टीको जिम्मेवारी तथा अन्य राजकीय जिम्मेवारी दिँदा दोहो¥याइ, तेह¥याई पनि दिने, पूर्वप्रशासक खोज्ने, चाकडी र दलाली गराउने परिपाटी तथा ‘प्रयोग गर्ने र भाग्ने’ बिगतकोे निर्मम समिक्षा गरी पार्टी भित्र न्याय बहाली हुने स्थितीका लागि सम्बन्धित समितिको सिफारिसलाई मान्यता दिइने कुरा प्रष्ट बोलिनुपर्छ ।

आठौं महाधिवेशनका बेलाको ८ लाख हाराहारीको पार्टी सदस्यको नविकरण र चुस्त अपडेट गर्दै पार्टी, मोर्चा र जवसहरुबाट देशैभर १ लाख संगठकको सूची तयार गरी कार्यक्षेत्रमा जाने योजना बनाउनु पर्ने, नेता, कार्यकर्ता र संगठकहरुलाई निश्चित अवधिको श्रम अभियानमा जोड्दै सो सम्बन्धि जनसेवाको प्रतिवेदन कम्तिमा वर्षको एक पटक सम्बन्धित समितिहरुमा अभिलेख हुनुपर्ने, पार्टीले जनतासँगको गठबन्धनलाई सुदृढ पार्ने कार्यक्रम तय गर्नुपर्ने, हरेक तहबाट शिक्षा, स्वास्थ, बीमा, उपचार, सुरक्षालगायतका मानवीय सेवाहरु, बाटो, खानेपानी, ढल, बिजुली, सिंचाईलगायतका भौतिक विकास, माटो जाँचदेखि बीउ, मल, सिँचाई, प्रकोप रक्षा, उत्पादन, प्रशोधन, भण्डारण र बजारसम्मका उत्पादन श्रृंखलाभित्रका समस्या हल गर्ने प्रयास गर्नुपर्ने, पार्टीका तर्फबाट जनप्रतिनिधि, विज्ञ र कर्मचारीतन्त्रको सहयोग लिई जनगुनासा हल गर्दै जनतासँगको गठबन्धन सुदृढ गराउन कार्यविधि बनाउनुपर्ने लगायतका विषयलाई २८ बुँदे सुझावका रूपमा अध्यक्षलाई बुझाएको छु । यी बुँदा बुझाउँदा अध्यक्षबाट आएको सकरात्मक प्रतिक्रियाप्रति धन्यवाद दिँदै पार्टी निर्णयबाटै व्यवहारिक कार्यान्वयनको अपेक्षा गरेको छु ।

नेकपा (माओवादी केन्द्र) निकट बुद्धिजीवी संगठनका केन्द्रीय सह–संयोजक तिवारीले ‘जनतासँग गठबन्धन’ शीर्षकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको सुझाब प्रतिवेदनकाे सम्पादित अंश।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा