
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आफूविरुद्ध संसदमा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालत जाने भएका छन् । संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि राणा अदालत जान लागेका हुन् ।
राणाले सञ्चारमाध्यमसँगको कुराकानीमा आजै अदालत जाने तयारी गरेको बताएका छन् । “मविरुद्धको प्रस्ताव निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ”, राणाले भनेका छन्, “म व्यवस्थापन गरेर आजै अदालत जान्छु ।”
राणाविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ गठबन्धनका सांसदहरुले गत वर्षको फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै राणा स्वतः निलम्बनमा परेका थिए ।
संसदले उनीमाथिको आरोपलाई छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । समितिले राणालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो । तर, सिफारिस समितिले संसदको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसदले महाभियोग टुंग्याउन सकेको थिएन ।
संसदको कार्यकाल महाभियोेग नटुंग्याई सकिए पनि राणा सर्वोच्च फर्किने वा नफर्किने अन्योल देखिएको थियो । निर्वाचन घोषणासँगै राणाले सर्वोच्च फर्किने प्रयास गरेपनि सरकारले रोकेको थियो । तर, निर्वाचनको परिणाम आएसँगै संसद सचिवालयले उनलाई महाभियोग निष्क्रिय भएको पत्र थमाएको हो ।
सम्बन्धित समाचार
महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा