
काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको सूचीमा समेटिएका छन् । कांग्रेसले उनको नाम प्राथमिकताका साथ तेस्रो नम्बरमा राखेको छ ।
पुरानो घर पाल्पा भएका राना भारतीय जनता पार्टी (भाजपा)को विद्यार्थी संगठन हुँदै राजनीतिमा उदाएका थिए । उनी सन् २०१३ पछि भाजपाका नेता अमित साहको सहयोगी बनेका थिए । साहले आफुँ गृहमन्त्री बनेसँगै नेपाल हेर्नको निम्ति स्वकीय सचिवालयको टिममा रानालाई राखेका थिए ।
रानाले आफ्नो फेसबुक प्रोफाइलमा पुराना कुराहरु धेरै फालेको भएपनि अखिल भारतीय विद्यार्थी परिषद्मा आबद्ध भएको विषयलाई भने राखेका छन् । राना सन् २००८ देखि २०१२ सम्म अखिल भारतीय विद्यार्थी संगठनमा आवद्ध थिए । जुन हिन्दुवादी आरएसएसअन्तर्गतको विद्यार्थी संगठन हो ।
रानाले आफुँ सहभागि भाजपाको बैठकको तस्बिर पनि सामाजिक सञ्जालमै राखेका छन् । उनको फेसबुक प्रोेफाइलमा नेपाली उच्च नेताहरुसँगको फोटो सेसन देख्न सकिन्छ ।
कांग्रेस निकट उच्च स्रोतले बताएअनुसार रानाले नेपालका नेतालाई भारतीय नेताहरुसँग भेटवार्ता गराउन भूमिका खेल्दथे । पछिल्लो समय रानाले नेपाली कांग्रेसका नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्यहरुलाई भेटाउन मुख्य भूमिका खेलेका थिए ।
बताइएअनुसार भारतीय उच्च नेताहरुसँगको छलफलकै आधारमा कांग्रेसले उनलाई समानुपातिकको लिस्टमा राखेको हो ।
पाल्पाका कांग्रेसीले चिन्दैनन् रानालाई
पाल्पा पुरानो घर भएका राना नेपाली कांग्रेसको स्थानीय राजनीतिमा भिजेका पात्र भने होइनन् । उनलाई अधिकांश स्थानीय कांग्रेसले चिन्दैनन् ।
कांग्रेस पाल्पाका एक नेताले बताएअनुसार राना पछिल्लो निर्वाचनको बेलामा मात्रै नेपाल आएका थिए । उनको नाम केन्द्रबाटै सिफारिस भएको थियो । उनको सक्रियता निर्वाचनसँगै मात्रै सुरु भएको ति नेता बताउँछन् । निर्वाचनको बेलामा आएमा कारण उनलाई धेरैले चिनेका छैनन् ।
राना भारतीय दूतावासको सहयोगमा विभिन्न कार्यक्रममा सहभागि भएको भए पनि पाल्पाका कार्यक्रमहरुमा खासै सहभागि थिएनन् ।