
नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले माध्यमिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नवजागरण माध्यमीक विद्यालय मध्यविन्दुमा आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुद्र शर्माको अध्यक्षता रहेको थियो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको अतिथिहरुमा नेपाल शिक्षक महासंघका सचिव गिरीराज गिरी, नेपाल शिक्षकका अध्यक्ष चुणामणी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हरिप्रसाद न्यौपाने, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष सुमित्रा लम्साल, प्याव्सनका उपाध्यक्ष दीपक रावत, नवजागरण माध्यमीक विद्यालयका प्रध्यानाध्यापक हरि प्रसाद देवकोटा लगायतका रहेका थिए ।
हरिप्रसाद देवकोटाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो भने बैठकको औचित्यमाथि इकाइप्रमुखले राखेका थिए । साथै सामुदायिक विद्यालयका तर्फबाट नेपाल लोकसेवा माविका प्र.अ लेखराज भण्डारी र संस्थागत विद्यालयका तर्फबाट विजय सामुदायिक शिक्षा सदनका प्रिन्सीपल रेखा श्रेष्ठले असल अभ्यासका विषयमा आदान–प्रदान गरेका थिए ।
सोहि कार्यक्रममा एसइइ २०७८ मा सहभागी भएर जिल्लामै सर्वोत्कृष्ट जिपीए ३.९५ ल्याउन सफल विद्यार्थी तथा विद्यालयलाई प्रसंसा पत्र र सम्मानपत्र वितरण गरिएको थियो ।
उक्त प्रमाणपत्र पाउनेमा नवजागरण मावि मध्यविन्दु विद्यालयका प्रशन्न ज्ञवाली, गैडाकोट नमुना बोर्डिङ स्कुल गैडाकोटकी प्रगति लुइँटेल, अम्मर इग्लीस सेकेन्डरी बोर्डीङ स्कुल गैडाकोटका अनुप आचार्य, साइनिङ इंगलिस स्कुल गैडाकोटका सुमित सुवाल, नवलपुर सेकेन्डरी बोडिङ स्कुल मध्यविन्दुका आशिष विश्वकर्मा र अक्सफोर्ड इंगलिस स्कुल गैडाकोटका शिशिर सापकोटा रहेको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी तिलक बहादुर खड्काले जानकारी दिएका छन् ।
कार्यक्रममा सम्मानित विद्यालय एवं पुरस्कृति विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै जिल्लाको शैक्षिक गुणस्तर सुधारमा सबै प्र.अहरुले प्राज्ञिक नेतृत्व तथा कुशलता प्रदर्शन गर्नुपर्नेमा प्रमुख अतिथिले जनोड दिएका थिए ।
त्यस्तै इकाई प्रमुखले सिकाई उपलब्धी सुधार गर्न विद्यालयहरुले सिकाई सुधारको ठोस कार्ययोजना निर्माण र कार्यान्वयन गर्नुपर्ने औल्याए । साथै विद्यालय सुशासन प्रवद्र्धनमा इकाइ, स्थानीयतहहरु र विद्यालयहरुको साझा प्रयत्न गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।