
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै माओवादी केन्द्रभित्र ठूलो असन्तुष्टि सिर्जना भएको छ । निर्वाचनको परिणाम निकै निराशाजनक आएसँगै माओवादी केन्द्रभित्र पार्टीको आगामी अवस्था के हुने ? अन्योलता देखिएको छ । निर्वाचनसँगै माओवादीभित्र पार्टी ‘पुनर्गठन या विघटन’ भन्ने कोणबाट पनि बहस चलेको छ ।
यहीबीच माओवादीको तेस्रो तहका नेताहरु पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्न भन्दै बेग्लै छलफलमा जुटेका छन् । युवा नेता लेखनाथ न्यौपानेको पहलमा बिहीबार माओवादी केन्द्रका तेस्रो तहका नेताहरु छलफलमा जुटेका हुन् ।
बिहीबारको छलफलमा माओवादीका सबैजसो भातृ संगठनका नेताहरु जम्मा भएका थिए । आर आर क्याम्पसमा भएको भेलामा माओवादीलाई कसरी अगाडि बढाउने भन्ने कोणबाट छलफल चलेको भेलामा सहभागि एक नेताले बताए । उनका अनुसार पार्टीलाई कसरी पुनर्गठित गर्ने भन्ने कोणबाट छलफल भएको थियो ।
“माओवादीका करिब–करिब सबैजसो भातृ संगठनका नेताहरु जम्मा भएका थियौं, मूलतः तेस्रो तहका नेताहरु सहभागि थियौं”, ति नेताले भने, “हाम्रो छलफल पार्टी पुनर्गठन कसरी गर्ने भन्ने कोणबाट थियो । पार्टी नेतृत्वलाई सच्चिन सुझाब दिने उद्देश्य भेलाको हो ।”
उनका अनुसार छिट्टै दोस्रो स्तरको भेला हुनेछ । दोस्रो भेला केही बृहत हुने पनि उनले बताएका छन् । दोस्रो भेला पछि पार्टी नेतृत्वलाई तेस्रो तहका नेताहरुको तर्फबाट एकमुष्ट सुझाब दिने तयारी गरिएको छ । भेला पछि केन्द्रीय समितिको विशेष बैठक बोलाउन माग गर्ने तयारी पनि नेताहरुको छ ।