
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अब जारी हुने शिक्षा ऐन शिक्षकमैत्री हुने उनको भनाइ थियो ।
काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन्
उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको पनि बताए ।
‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन ।’ उनले भने, ‘यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ ।’
शिक्षा ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुने पनि उनले दाबी गरे ।
‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ पचण्डले भने, ‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ । त्यसतर्फ पनि सरकारले सोचिरहेको छ ।’
शिक्षक अस्पताल निर्माणकौ काम पनि अघि बढ्ने भन्दै प्रचण्डले भने, ‘अब संघीय शिक्षा ऐन अघि बढ्छ र शिक्षक मैत्री ऐ्न आउँछ ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका रहेको प्रधानमन्त्रीको जोड थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले संगठनको पहलमा संघीय शिक्षा ऐन ल्याएरै छाड्ने बताए । संगठन अब पेशागत अधिकारसँगै पेशागत जिम्मेवारीतर्फ पनि केन्द्रीत हुनेभन्दै गुणस्तरीय शिक्षा सुधारका लागि सुझाब कार्यदल नै बनाएर अघि बढ्ने बताए ।
संगठनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई शुभकामना तथा बधाइ पत्र दिँदै शिक्षक महासंघ र सरकारबीच भएको ५१ बुँदे सम्झौता पत्रबारे स्मरण गराएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले महासंघसँग भएको उक्त ५१ बुँदे सम्झौता अध्ययन गरी तत्कालै कार्यान्वयनमा लग्ने प्रतिबद्धता जनाएका थिए ।