
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै राजनीति केही तरंगीत भएको छ । कांग्रेसले दिएको विश्वासको मतले विशेषतः सत्ता गठबन्धनमा ठूलो अन्योलता निम्त्याएको छ । एमालेले कांग्रेसको मतलाई ‘जालझेल’को रुपमा समेत अथ्र्याइरहेको छ ।
हुनत् प्रतिपक्षीमा बस्न राजी भइसकेको कांग्रेस सोमबार साँझ भएको प्रचण्डसँगको छलफलपछि विश्वासको मत दिन तयार भएको थियो । उच्च नेता राखेर प्रचण्डसँग वार्ता गरेपछि पार्टी सभापति शेरबहादुर देउवा विश्वासको मत दिन तयार भएका थिए । देउवाले उक्त निर्णयलाई पार्टीबाट सर्वसहमतिकै रुपमा अनुमोदन गराएका थिए । कांग्रेसको निर्णयसँगै नै प्रचण्डले ‘प्रचण्ड बहुमत’ प्राप्त गरे ।
जुन निर्णय केही स्वभाविक देखिन्न । एकातिर गठबन्धन टुटेर नयाँ गठबन्धन बनेको धेरै समय भएको छैन भने अर्कोतिर नयाँ गठबन्धनभित्र शक्ति बाँडफाँटका विषय टुंगीएका छैनन् । प्रधानमन्त्रीको विषय तत्कालका लागि हल भएपनि मुख्यतः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रदेशका मुख्यमन्त्रीलगायतको विषय टुंगीएको छैन । शक्ति बाँडफाँटमा मुख्य एजेण्डामा सत्ता गठबन्धन प्रवेश गर्दै गर्दा कांग्रेसको निर्णयलाई सहज मान्ने अवस्था पनि हुन्न ।
मंगलबार संसद बैठकमा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि स्पष्ट रुपमै कांग्रेसको निर्णयमा ‘जालझेल’को आशंका गरेका थिए । “प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन जनाइसकेको छ, यदी यो समर्थनभित्र सदासयताबाहेक केही छैन भने यदी यो समर्थन कुनै जाल होइन भने यो समर्थन कुनै ढोक्साह होइन भने स्वागत छ”, मंगलबार संसद बैठकमा बोल्दै ओलीले भनेका थिए, “ढोक्साह वा जाल हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याकेजस्तै हुनेछ जाल । भोलिका निम्ति अरू खालका कुरा सोचिएका छन् भने ढोक्साहा रित्तै हुनेछ ।”
सत्ता गठबन्धनमा स्पष्ट बहुमत हुँदा हुँदै कांग्रेस किन मत दिन आयो त ? राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई पनि सत्ता समिकरणमा हिस्सा पाउने आशमा कांग्रेस आएको टिप्पणी गर्दछन् । कांग्रेसको निर्णय अर्थहिन रहेको पनि भट्टराईको टिप्पणी छ । “हिजो कांग्रेसले प्रचण्डलाई धोका दिएकै हो, अब कांग्रेसले सहयोग गर्छ वा गर्न आयो भनेर बुझ्न मिल्दैन”, भट्टराई भन्छन्, “कांग्रेसले ‘जाल’ फालेकोे हो, केही हिस्सा पाइन्छ भन्ने बारगेनिङ्ग हो, तर यो अर्थपूर्णं छैन ।”
भट्टराई कांग्रेसले निर्णयले सत्ता गठबन्धनभित्र अविश्वास पैदा हुने सम्भावनालाई पनि नर्काछन् । उनी अहिलेको सत्ता गठबन्धनभित्र यसअघिको भन्दा बढी विश्वास सिर्जना भएको दाबी गर्दछन् ।
तर, अर्का राजनीतिक विश्लेषक हरि रोका एमाले नेतृत्वबाट जे पनि हुनसक्ने अवस्थाको कारण कांग्रेसले पछिल्लो निर्णय लिएको हुनसक्ने बताउँछन् । प्रचण्डको सुझबुझपूर्णं कदमले कांग्रेस पछिल्लो निर्णयमा आएको उनको टिप्पणी छ । “नयाँ सरकार गठन पछि पनि एमाले अध्यक्ष ओलीबाट आएका अभिव्यक्ति सामान्य छैनन्, उनले देशलाई पुनः मध्यावधीतिर धकेल्न खोजे जसरी टिप्पणी गरेका छन्”, रोकाले भनेका छन्, “कांग्रेसको पछिल्लो निर्णय प्रचण्डको सुझबुझपूर्णं कदमको नतिजा हो, यो निर्णयसँगै ओलीले देखाएको त्रास सकिएको छ ।”
कांग्रेसको निर्णयले प्रचण्डलाई थप शक्तिशाली बनाएको पनि रोकाले टिप्पणी गरेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकारले नै पूर्णं कार्यकाल पुरा गर्नसक्ने समेत सम्भावना देखिएको बताउँछन् । “कांग्रेसको निर्णयलाई प्रचण्डलाई थप सहज बनाएको छ, प्रचण्ड थप शक्तिशाली बनेका छन्”, उनी भन्छन्, “अब सायद, ओलीले फेरि यसो हुन्छ भनेर तर्साउने छैनन् । यो मुलुकलाई लागि पनि राम्रो अवस्था हो । अब सरकार स्थायी ढंगले जाने अवस्था सिर्जना भएको छ ।”
याे पनि…
के प्रचण्डले देउवासँग शक्ति बाँडफाँटबारे सहमति गरेका हुन् ?