
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयकाे संख्या घटाएका छन् । मुख्यमन्त्री अधिकारीले सत्तारुढ दलका नेताहरुसँगकाे सहमतिअनुसार पाँच वटा मन्त्रालय घटाएका हुन् ।
पछिल्लाे निर्णयसँगै गण्डकीमा मन्त्रालयकाे संख्या १२ बाट ७ मा झरेकाे छ । मुख्यमन्त्रीकाे कार्यालयले जनाएअनुसार गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, आन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय मात्रै रहनेछ ।
मन्त्रालयकाे संख्या घटाइएसँगै मुख्यमन्त्रीले आज नै मन्त्रिपरिषद् विस्तारकाे तयारीसमेत गरेका छन् । प्रदेश सरकारकी प्रवक्ता एवम् बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिएअनुसार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
एमालेकै तर्फबाट पहिलाे पटक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।