Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

‘राज्यले सहयोग गरे जुत्तामा तत्कालै आत्मनिर्भर हुनसक्छौं’



पछिल्लो समय नेपाल क्रमशः जुत्तामा आत्मनिर्भर बन्दै गएको छ । सार्वजनिक तथ्यांकहरुले आन्तरिक खपतको ५० देखि ६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनको देखिन्छ । ठूलो रोजगारी सिर्जना गरेको यो क्षेत्रले व्यापार घाटा कम गराउन पनि निकै ठूलो भूमिका खेलेको छ । संसार न्यूजका राजेन्द्र बरालसन्देश अर्यालले पछिल्लो जुत्ता उत्पादनको अवस्था, समस्या र सम्भावनाबारे जुत्ता उत्पादक संघ, नेपालका अध्यक्ष नानीराज घिमिरेसँग केही जिज्ञासा राखेका छन् । अध्यक्ष घिमिरेसँग नेपालको जुत्ता उत्पादनसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश:

पहिलो पटक अन्तराष्ट्रिय स्तरको फुटवेयर प्रदर्शनी तथा मेला गर्नुभयो । कस्तो रह्यो प्रदर्शनी तथा मेला ?

जुत्ता उत्पादक संघले आफ्नो गठनपश्चात नै २०५९ देखि २०७६ नियमितजसो विशुद्ध आन्तरिक ग्राहकलाई केन्द्रीत गरेर औद्योगिक मेला तथा प्रदर्शनी गर्दै आएको थियो । ०७६ पछि कोरोनालगायतका कारण एशोसियसनले मेला तथा प्रदर्शनी गर्न सकेन । गत वर्ष मलगायतको समूह जसरी नेतृत्वमा आयो तत्पश्चात सधैँ गरिरहेको मेला तथा प्रदर्शनीभन्दा बेग्लै गरौं भन्ने छलफल चलायौं ।

हामी वस्तु उत्पादन गर्ने उद्योगी हौं । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने च्यानल निकै नै हुन्छन् । हामीले यसअघिका मेला तथा प्रदर्शनी सिधै उपभोक्तालाई लक्षित गरी गर्‍यौं । हामीले बीचका च्यानललाई प्रयोग नै गरेनौं । अहिले हामीले उत्पादनलाई उपभोक्तासमक्ष जोड्ने ति च्यानलहरुलाई बोलाएर मेला तथा प्रदर्शन गर्‍यौं भने बढी उपयुक्त हुन्छ कि भन्ने हिसाबले डिलर, होलसेलर, ड्रिष्टिव्युटरलगायतका सम्बन्धित व्यवसायीहरु र अन्तराष्ट्रिय स्तरका व्यवसायीलाई पनि हामीले जोड्ने प्रर्यत्न गर्‍यौं । यसरी गर्दा आन्तरिकसँगै अन्तराष्ट्रिय स्तरका केही ठूला व्यवसायीसँग हामी जोडिने अवस्था बन्यो ।

अर्कोतर्फ, फुटवेयरको मेसिनरी, कच्चा पदार्थ र प्रविधि बेच्ने कम्पनीहरुलाई पनि हामीले सहभागि गराउन सक्यौं । कोरोनाको कारण चिनियाँ उद्योगी तथा व्यवसायी जोडिन नसकेपनि समग्रमा मेला तथा प्रदर्शन आन्तरिक र बाह्य दुवै हिसाबले निकै भव्य रह्यो । अर्कोतर्फ, हामीले महामहिम राष्ट्रपतिबाटै कार्यक्रमको उद्घाटन गर्न पायौं । यो पनि निकै ऐतिहासिक छ ।

सहभागिताको हिसाबले मेला तथा प्रदर्शनी उत्साहपूर्णं भयो भन्दै गर्दा व्यवसायीक हिसाबले मेला कस्तो रह्यो ? तपाईंहरुको उत्पादन थप बिक्री गर्ने अवस्था रह्यो कि रहेन ?

यो मेला तथा प्रदर्शनीमा सहभागिता मात्रै भएन, व्यवसायीक हिसाबले पनि धेरै अर्थपूर्णं रह्यो । यसअघिका मेला तथा प्रदर्शनीमा एउटा उद्योगले मुस्किलले दुई/तीन लाखको व्यापार गर्ने अवस्था थियो । ४०/५० उद्योगी सहभागि हुँदा डेढ/दुई करोडको व्यापार हुन्थ्यो । तर, यसपटक हामीले करिब–करिब १० करोडभन्दा बढीको कारोबार गर्‍यौं । हिजो दिनभर लगाएर एक जोर, एउटा ग्राहकलाई बेच्थ्यौं तर, अहिले कापीमा अर्डर लेख्यौं । तीन दिनको बीचमा निकै उत्साहपूर्णं रुपमा उत्पादन बेच्यौं । हिजो निश्चित उद्योगी तथा वितरक खुसी हुने अवस्था थियो भने अहिले सबैलाई समेट्न सक्यौं ।

‘अन्तराष्ट्रिय’ भनिएको यो मेला तथा प्रदर्शनीले अन्तराष्ट्रिय व्यापार सम्बन्धमा केही फरक पार्‍यो कि पारेन ?

यो मेला तथा प्रदर्शनीले अन्तराष्ट्रिय तहमा पक्कै प्रभाव पारेको छ । यो प्रदर्शनीले हामीले उत्पादन गर्ने जुत्ताको उत्पादन कस्तो छ ? भन्ने कुरा सबैलाई थाहा भयो । हाम्रो नीति निर्माण तहका व्यक्तिलाई पनि त्यहाँ आएर हेर्ने तथा बुझ्ने अवसर मिल्यो ।

तपाईंहरुले यो मेला तथा प्रदर्शनीको घोषणा गर्दै गर्दा भृकुटीमण्डपमा अब खुद्रा मेला हुँदैेन भनेर भन्नुभएको थियो । तर, त्यस्ता खुद्रे मेला रोकिएको छैन । यसप्रति तपाईंको टिप्पणी के छ ?

खुद्रे मेलाप्रति के टिप्पणी गर्ने ? राज्यको नियमअनुसार कोही भाडा तिरेर खुद्रा व्यापार गर्छ भने त्यसलाई हामी कसरी रोक्न सक्छौं र ? हामीले उपभोक्ता, व्यवसायी र राज्यका नीति निर्माण तहका व्यक्तिलाई खुद्रे मेला र औद्योगिक प्रदर्शनीमा के फरक छ भनेर देखाउन खोजेका थियौं । जुन कुरामा हामी पूर्णंरुपमा सफल छौं । औद्योगिक मेला र दैनिक रुपमा हुने व्यापारको खुद्रा मेला भिन्न–भिन्न विषय हो । हाम्रो उद्योगीहरुको मेला हो, अरु खुद्रा पसलेको जस्तो होइन ।

अहिले तपाईंले देख्ने मेलामा नेपाली जुत्ता मात्रै हुँदैनन्, त्यहाँ चिनियाँ अनि भारतीय कम्पनीका जुत्ताहरु पनि हुन्छन् । मेलाको नाम केही उद्योगीले जे राखेपनि खास त्यो नेपाली उद्योगीहरुको मेला होइन ।

यस्ता खुद्रे मेलाले जे–जस्तो अफबा फैलाइरहेको छ, यो जुत्ता उत्पादक संघ चाँसो भन्दापनि राज्यको चाँसोको विषय हुनुपर्ने हो । त्यसलाई राज्यले नियमन गर्नुपर्ने हो ।

अहिले पनि हाम्रो दक्षिणी नाकाबाट खुला र निर्वाधरुपमा तयारी सामानहरु भित्रिरहेका छन् । एकातिर भन्सार तिरेर ल्याउने पनि होलान्, त्योभन्दा बढी भन्सार छलेर सामान ल्याउने व्यापारी पनि छन् । यसले गर्दा हामी उत्पादनमा सक्षम भइकन पनि हाम्रा उत्पादनहरुले बजार नपाइरहेको अवस्था छ । कतिपय उद्योगीका उत्पादन बिक्री नै नभएर बन्द नै गर्नुपर्ने अवस्था पनि छ ।

तपाईंले जुत्तामा हामी करिब आत्मनिर्भर बन्दै गएको पनि बताउनुभएको छ । तर, विदेशी जुत्ताहरुको आयातमा कमी देखिएको छैन । किन विदेशी उत्पादनको बजार फैलिरहेको छ ?

हालको अवस्थामा नेपाली उद्योगीको जुत्ता उत्पादन गर्ने क्षमता १६ करोड हाराहारी छ । नेपालको जम्माजम्मी माग भनेको १० करोड हाराहारी छ । गत वर्षको तथ्यांकलाई हेर्ने हो भने हामीले स्वदेशी उद्योगबाट करिब पाँच करोड मात्रै परिपूर्ती गरेको अवस्था छ ।

अहिले पनि हाम्रो दक्षिणी नाकाबाट खुला र निर्वाधरुपमा तयारी सामानहरु भित्रिरहेका छन् । एकातिर भन्सार तिरेर ल्याउने पनि होलान्, त्योभन्दा बढी भन्सार छलेर सामान ल्याउने व्यापारी पनि छन् । यसले गर्दा हामी उत्पादनमा सक्षम भइकन पनि हाम्रा उत्पादनहरुले बजार नपाइरहेको अवस्था छ । कतिपय उद्योगीका उत्पादन बिक्री नै नभएर बन्द नै गर्नुपर्ने अवस्था पनि छ ।

यसमा राज्यले सही नीति अख्तियार गर्नुपर्छ । चोरी पैठारीलाई निगरानी गर्नेदेखि भन्सारदरलाई उद्योगीमैत्री बनाउने र अन्तराष्ट्रिय ब्राण्डका कपिराइट उत्पादनलाई रोक्ने नीति लिनुपर्छ । हामी उद्योगीले यी कुरा गर्न सक्दैनौं, राज्यले नै यसमा कडाईपूर्वक नीति अख्तियार गर्नुपर्छ । राज्यले निश्चित दायित्व पुरा नर्गदा हामी मर्कामा परेका हौं ।

सरकारले पनि नेपाली उत्पादनलाई प्रयोग र प्रोत्साहन गर्ने नारा दिएको छ । तर, सँगै स्वदेशी उत्पादनको गुणस्तरको विषयमा पनि प्रश्न उठाएको पाइन्छ । यसलाई के बुझ्ने ?

गुणस्तरको विषयमा खास प्रश्न उठेको छैन । यहाँले भन्न खोजेको सेना, प्रहरी र कर्मचारीले स्वदेशी उत्पादनलाई प्रयोग गरेनन् भन्ने सन्र्दभमा जबसम्म राज्यले स्वदेशी कम्पनीका बील बिना भुक्तानी नगर्ने नीति लिन्छ, तबसम्म यो समाधान हुँदैन । सरकारले ‘कालो जुत्ता’ जुनसुकै लाए पनि हुने नीति बनाएको छ । जसकारण पनि यो समस्या बढेको हो । यदि राज्यले नीति नै बनाएर अनिवार्य नेपाली जुत्ता भन्ने हो भने तत्कालै समाधान हुन्छ । अन्यथा यो सहजै समाधान हुँदैन ।

जुत्ता उत्पादनको कुरा गर्दै गर्दा, कच्चा पदार्थको विषय पनि जोडिन्छ । अहिले स्वदेशीभन्दा विदेशी कच्चा पदार्थ प्रयोग भएको भन्ने पनि छ । ‘नेपाली उद्योगका जुत्ता भन्ने तर, कच्चा पदार्थ विदेशी मात्रै प्रयोग गर्दा सन्तुलन हुन्छ ?

आजभन्दा ८ देखि १० वर्ष अगाडिको कुरा गर्ने हो भने ८ देखि १० प्रतिशतकै तहमा स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्थ्यो । तर, आज हामी निटिङ्ग अपर करिब–करिब नेपाली नै प्रयोग हुन्छ । धागो नेपाललै बन्छ अपर बनेर नेपालमै प्रयोग हुन्छ । पिबिसी सोरुममा करिब–करिब १०० प्रतिशत नै नेपाली प्रयोग हुन्छ । पिऊ सोल ८० प्रतिशत नेपाली प्रयोग हुन्छ । रबर सोल पनि अहिले नेपाली प्रयोग हुन थालेको छ । अहिले सोल बनाउन दुई/तीन वटा उद्योग लागेको अवस्था छ । त्यस्तो भयो भने नेपाली मात्रै प्रयोग हुने अवस्था रहन्छ ।

फुटवेयर उद्योग जुन कृषिपछिको सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योग हो । याे पशुपालन र कृषिसँग जोडिने हुँदा यसले कृषिलाई नै अगाडि बढाउन सहयाेग गर्दछ । राज्यले लागत घटाउन केही पहल गर्ने हो भने यसले निर्यातको प्रचुर सम्भावना बोकेको छ । अहिले ५देखि ६ करोड जोर जुत्ता निर्यात गर्ने हामी क्षमता राख्दछौं । हामीले सरदर एक कराेड ५० लाख जाेर जुत्ता निर्यात गर्दै आएका थियौं । तर, कोरोना महामारीसँगै पछिल्लो अवस्थासम्म आइपुग्दा अहिले ५८/६० लाख जाेर जुत्ता मात्रै निर्यात भएको अवस्था छ ।

फुटवेयर उद्योग जुन कृषिपछिको सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योग हो । याे पशुपालन र कृषिसँग जोडिने हुँदा यसले कृषिलाई नै अगाडि बढाउन सहयाेग गर्दछ । राज्यले लागत घटाउन केही पहल गर्ने हो भने यसले निर्यातको प्रचुर सम्भावना बोकेको छ । अहिले ५देखि ६ करोड जोर जुत्ता निर्यात गर्ने हामी क्षमता राख्दछौं । हामीले सरदर एक कराेड ५० लाख जाेर जुत्ता निर्यात गर्दै आएका थियौं । तर, कोरोना महामारीसँगै पछिल्लो अवस्थासम्म आइपुग्दा अहिले ५८/६० लाख जाेर जुत्ता मात्रै निर्यात भएको अवस्था छ ।

अहिले ४० देखि ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ भने आगामी दुईदेखि तीन वर्षमा ७० देखि ८० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर जुत्ता बनाउन सक्छौं । राज्यले कहीँबाट लागत घटाउन सहयो गर्ने हो भने हामीले निर्यातलाई बढाउन सक्छौं ।

फरक प्रसङ्गमा, केही वर्ष पहिलादेखि नै जुत्ता उत्पादक संघले हामीलाई छुट्टै फुटवेयर जोन चाहियो भनेर सरकारसँग माग पनि गरेको अवस्था थियो । त्यसलाई कहाँ पुर्‍याउनु भयो ?

सबै फुटवेयर व्यवसायीलाई एक ठाउँमा लगेर राख्ने व्यवस्था सरकारले मिलाइदिए हुन्थ्यो भन्ने हाम्रो माग थियो । तर, त्यो सम्बोधन नभइसकेपछि आफैं उद्योगीले छ वर्ष अगाडि फुटवेयर जोन बनाउने गरी लाग्यौं । राज्यले पूर्वाधारमा सहयोग गर्ने तर, जग्गा हामी आफैं किन्ने भनेर दक्षिणकाली नगरपालिकामा हामीले केही जग्गा पनि लियौं । हाम्रो संस्था तथा यस क्षेत्रका उद्योगी मिलेर दुई सय बढी रोपनी जग्गा लिएका छौं । जग्गा त लियौं तर, व्यवस्थितरुपमा एकै ठाउँमा जग्गा हुन पाएन । अर्कोतर्फ, फुटवेयर जोनको लागि आवश्यक जग्गा पनि पुगेन । अहिले आएर त्यहाँ जग्गाको मूल्य निकै बढेको कारण पनि हामीले थप किन्न सकेनौं । जसको कारण फुटवेयर जोन बनाउने विषय अगाडि बढाउन नसकेको अवस्था हो । यो विषय हाम्रो लागि निकै चिन्ताको विषय पनि बनेको छ ।

सरकार आफैंले ठाउँ–ठाउँमा उद्योगीका लागि भनेर औद्योगिक क्षेत्र पनि बनाइदिएको छ । आवश्यक पूर्वाधार पनि जोडिदिएको छ । किन तपाईंहरु त्यो क्षेत्रमा जान चाहनुहुन्न ? कारण के हो ?

भनेजस्तो वास्तविकता छैन । तपाईंले भनेजस्तो कुनै पनि औद्योगिक क्षेत्रमा हामीलाई सहजै जग्गा दिने अवस्था छैन । काठमाडौं वा हेटौंडा भनेकोमा आवश्यक जग्गा छैन । कतिपयले टिप्पणी गरेको सुनिन्छ, यो अर्थहिन कुरा हो । हामी त्यस्तो हुन्थ्यो भने नदुखेको टाउको दुखाउने थिएनौं ।

हामी हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्‍याउन सक्छौं । उत्पादनलाई थप उत्कृष्ट बनाउन सक्छौं । जसको लागि राज्यले केही विषय सहयोग गर्न आवश्यक छ । हामीलाई कच्चा पदार्थ आयातमा केही सहुलीयत दिनुपर्छ । ऋणकाे ब्याजमा सहुलीयत दिनपर्छ । मुख्यतः नीतिगतरूपमै राज्यले सम्बाेधन गर्नुपर्छ ।

कोरोना कालसँगै समग्र व्यवसायीक क्षेत्रमा केही समस्या छाएको देखिन्छ । अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा त्यसको प्रभाव कत्तिको परेको छ ? अवस्था के छ ?

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना कालभन्दा पनि बढी सकस व्यवसायीक क्षेत्रमा अहिले परेको छ । अहिले जुन खालको आर्थिक तरलताको समस्या देखिएको छ, यसले सबैतिर निकै समस्या देखिएको छ । अहिले एकातिर चुलिँदो आर्थिक संकटले स्वदेशी उद्योगीलाई समस्या बनाएको छ भने अर्कोतिर चोरी पैठारीको कारण पनि समस्या बढ्दो छ । अहिले त भूकम्प र कोरोना कालभन्दा बढी समस्यामा परेको अवस्था छ । कोरोना कालमा त राज्यले पनि केही सम्बोधन गर्ने वातावरण बन्यो, उत्पादन नहुँदा उद्योगीलाई धेरै समस्या भएन, तर पछिल्लो १८ महिना यतादेखिको अवस्था निकै भयावह खालको छ ।

अन्तिममा, जुन अवस्थामा यो क्षेत्र छ, यसलाई थप विकास गर्न के गर्नुपर्ला ? राज्यको भूमिका के हुनुपर्ने देख्नुहुन्छ ?

हामी हाम्रो उत्पादनलाई विश्वबजारमा पुर्‍याउन सक्छौं । उत्पादनलाई थप उत्कृष्ट बनाउन सक्छौं । जसको लागि राज्यले केही विषय सहयोग गर्न आवश्यक छ ।

हामीलाई कच्चा पदार्थ आयातमा केही सहुलीयत दिनुपर्छ । २०५० सालतिर व्यापार गर्ने संस्था र उद्योगलाई ब्याजदरमै भिन्नता थियो । तर, आज पहूँचवाला व्यापारी भए भने उनीहरुले तिर्ने ब्याज सस्तो हुन्छ तर, उद्योगी महँगोमा तिरिरहेको हुन्छ । उद्योगलाई प्रोत्साहन गर्ने र उत्पादनमूखी अर्थतन्त्रमा अब फर्किने हो भने केही नीतिगत परिवर्तन आवश्यक छ । हिजो राज्यको अर्थतन्त्र उत्पादनमूखी थियो तर, पछि आयातमूखी बन्न पुग्यो । आज राज्यले भन्सारलाई नै आएको प्रमुख स्रोत मानिरहेको छ । यही अवस्थामा जाने हो भने भोलिको अवस्था के हुन्छ भन्न सकिन्न ।

अहिलेकै राजस्व उठ्ने स्थितिलाई हेर्ने हो भने कर्मचारीलाई नै तलब खुवाउन नसक्ने अवस्थामा राज्य पुगीसकेको अवस्था छ । यदि उत्पादनमूखी अर्थतन्त्रलाई जोड नदिने हो भने अवस्था सुध्रिँदैन । उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएर राज्यले नीति नियम बनाउनु पर्दछ । अहिले खाँचो वित्तिय क्षेत्रसँगको समन्वय हो । जुन राज्यले उद्योगलाई प्राथमिकता राखेर नीति बनाउनुपर्छ ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी