
काठमाडौं । शिक्वल फाउन्डेशन र एनसेल आजियाटा लिमिटेडको सहकार्यमा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना हुँदैछ ।
देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते हुने आयोजकले जनाएका छन् ।
विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको जनाएको छ ।
यसको प्रमुख उद्धेश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको जनाइएको छ । साथै यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेको एनसेलले जनाएको छ ।
फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समुहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भईरहेका छन् ।
यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपुर्ण योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।
यस कार्यक्रमले सुचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ ।
यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीनजनाको समुह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरि एनसेल एपमार्फत आफ्नो समुह दर्ता गर्न सक्ने बताइएको छ ।
दर्ता भएका समुहहरु मध्येबाट छानिएका समुहरुको लिस्ट माघ २० घोषणा गरिने छ ।
कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।
फाउन्डेसनका अनुसार, यस प्रकारका महिला लक्षित पहलहरूले नेपालमा आईटी–सम्बन्धित उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउँछ ।
यसले महिलाहरुको व्यक्तिगत र उनीहरूका परिवारलाई मात्र नभई समाज र अर्थतन्त्रलाई पनि फाइदा पुर्याउन मद्दत गर्दछ ।