
काठमाडौं । आत्मदाह गरेका इलामका प्रेम आचार्यलाई आइसीयुमा भेट्न गएपछि आलोचना खेपेकी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले आफुले कुनै प्रोटोकल नमिचेको बताएकी छन् ।
गत मंगलबार आत्मदाहको प्रयास गरेपछि किर्तिपुर बर्नहार्टमा उपचारका लागि राखिएका प्रेम आचार्यलाई आइसियुमा गएर भेटेपछि कार्की विवादित बनेकी थिइन् । आइसीयुमा उपचार गराइरहेका विरामीलाई भेट्न जाँदा अस्पताल प्रशासनलाई कुनैपनि जानकारी नदिइ भेटेको भन्ने आरोपसहित उनको सबैतिर आलोचना भएको थियो । यद्यपी ८० प्रतिशत जलेका आचार्यको बुधबार बिहान मृत्यु भएको थियो ।
शुक्रबार स्वास्थ्य पत्रकार मन्चले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कार्कीले हरेक प्रोटोकल भन्दा माथि मानविय प्रोटोकल हुने बताउँदै आफुले मानविताको आधारमा आचार्यलाई भेटेको बताएकी छन् ।
‘म भित्रको संवेदननाले अस्पताल नपुगि बस्न सकिनँ र अस्पतालमा भेट्न पुगेको थिएँ । त्यहाँ पुग्नु आवश्यक थियो । हरेक प्रोटोकल भन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ । त्यसैले उहाँलाई हौसला दिनका लागि म तत्काल त्यहाँ पुगेकी थिएँ । हामीले अस्पताल प्रशासनको प्रोटोकल मिचेका छैनौं ।’ राज्यमन्त्री कार्कीले भनिन् ।
कार्कीले अस्पताल प्रशासनमा आफुले सम्पर्क गर्दा आर्चाय होसमा रहेकाले आफू तत्काल भेट्न गएको र त्यहाँ पुगेर चिकित्सकलाई जानकारी गराएको समेत उनले बताइन् ।
स्मरण रहोस् गत मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि इलामका ३६ वर्षीय आचार्यले आफुमाथि आगो लगाएर आत्दाहको प्रयास गर्दैगर्दा उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिए पनि उनको बुधबार बिहान मृत्यु भएको थियो ।
कृषि लगायत विभिन्त पेशा व्यवसायमा लागेका आचार्यले आत्मदाहको प्रयास भन्दा अगाडि ६ हजार बढी शब्दको स्टाटस लेखेर राज्यका हरेक क्षेत्रबाट आफु ठगिएको र देशमा गरिखानका लागि सहज वातावरण नभएको गुनासो सहितको निराशा पोखेका थिए ।