
काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)ले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि सत्ता गठबन्धनभित्र अविश्वास मात्रै पैदा भएको छैन गठबन्धन नै विघटनको संघारमा समेत पुगेको छ । माओवादी एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने मुडमा देखिन्छ । माओवादीले सत्तामा हाबी हुने एमालेको रणनीतिलाई पनि विस्तारै कमजोर बनाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनसन्तुष्टि एमालेसँगको टकरावपछि देखिएको हो ।
माओवादी फेरिएसँगै पुस १० को ‘बालकोट सहमति’ले सत्ता बाहिर पुगेको नेपाली कांग्रेसमा उत्साह देखिएको छ । माओवादीले उठाएको ‘राष्ट्रिय सहमति’ भन्ने विषयलाई कांग्रेसले ‘सत्ता सहकार्यको प्रस्ताव’को रुपमा समेत व्याख्या गर्न थालेको छ ।
पुस २६ मा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै माओवादीले राष्ट्रिय सहमतिको वकालत गर्न थालेको थियो । माओवादीले गठबन्धनभन्दा राष्ट्रिय सहमतिको एजेण्डालाई अगाडि सार्न खोजेको छ । माओवादीले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई पाखा राखेर अगाडि बढ्न नहुने तर्क गरिरहेको छ । माओवादीको भाव कांग्रेसलाई राष्ट्रपति दिए शक्ति सन्तुलन मिल्ने कोणबाट पनि देखिन्छ ।
गठबन्धन तोडिने अवस्था
राजनीतिमा राष्ट्रिय सहमतिको एजेण्डा प्रवेश भएसँगै एमाले तिव्र असन्तुष्ट छ । एमालेले राष्ट्रिय सहमतिको एजेण्डालाई गठबन्धन तोड्ने उद्देश्यको रुपमा पनि बुझेको छ ।
हुनत कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै पनि अहिलेको सत्ता गठबन्धन ‘अप्राकृतिक’ भएको बताइरहेका छन् । कांग्रेसका नेताहरुले निर्वाचनअघिको गठबन्धन कायम हुनुपर्ने बताइरहेका छन् । निर्वाचनमा जसरी सहकार्य भयो, निर्वाचनपछि पनि त्यो आवश्यक भएको उनीहरुको तर्क छ ।
विशेषगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस र माओवादीबीचको समीकरण बनाउन प्रर्यत्न गरिरहेका छन् ।
तर, राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति जनाएरै प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । पुस १० को बालकोट सहमति प्रधानमन्त्री र सभामुख आलोपालो तर, राष्ट्रपति कांग्रेसले पाउने भन्ने थियो । तर, माओवादीले उक्त सहमतिलाई पालना नगर्नु गठबन्धनलाई कायम राख्न नखोज्नु भन्ने हुन्छ । जुनको कांग्रेसको रणनीतिसँग पनि मेल खान्छ ।
देउवाको दाउ कता ?
माओवादीले राष्ट्रिय सहमतिको विषय उठान गर्दै गर्दा राष्ट्रपति कांग्रेसलाई दिने रणनीति लिएको धेरैको विश्लेषण छ । कांग्रेसलाई राष्ट्रपति दिएमा प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई पाँचै वर्ष काम पनि सहज हुने अनुमान माओवादीभित्र पनि भइरहेको छ । माओवादीका कतिपय नेता देउवालाई नै राष्ट्रपति बनाएर राजनीतिक सकस अन्त्य गर्नुपर्ने लाइनमा छन् ।
यद्यपी, कांग्रेसभित्र राष्ट्रपतिको विषयमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा पनि चलिरहको छ । कांग्रेसका एक नेताले बताएअनुसार पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि छलफल सुरु भएको छ । जसको अर्थ कांग्रेसभित्रै पनि देउवालाई राष्ट्रपति बनाउने विषय उठेको छ ।
देउवा पनि स्वयम् आगामी सत्ता खेल जे पनि हुनसक्ने सम्भावनाका बीचमा ‘सेफ ल्याण्डिङ्ग’को सोंचमा देखिन्छन् । राष्ट्रपति उनको निम्ति सबैभन्दा उपयुक्त पद हुनसक्ने देखिन्छ ।
माओवादी र कांग्रेसभित्र शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दाहरुलाई टुंग्याउने दबाब छ । यस्तोमा एमालेसँगको सहकार्य माओवादीका निम्ति सहज हुँदैन । कांग्रेससँग सहकार्य गरेका शान्ति प्रक्रियासँग सम्बन्धित मुद्दाहरु सहजै टुग्याउन सकिने विश्वास माओवादीमा देखिन्छ ।