
स्व. दण्डपाणि अर्ज्यालको नाममा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्र काठमाडौको आयोजनामा गोरखा नगरपालिका स्तरीय मावि तहको वक्तृत्वकला प्रतियोगिता सरस्वती मा वि आहालेमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
गोरखा न. पा. को संयोजन र सरस्वती मा.वि आहाले ८ को सहयोगमा उमेश अर्याल स्मृति सदनमा आयोजित उक्त वक्तृत्वकला प्रतियोगितामा १३ छात्रा र ४ जना छात्र गरी जम्मा १७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।
“नेपाल राष्ट्र निर्माणमा गोरखालीहरूको भूमिका” बिषयक सो प्रतियोगितामा महेन्द्र मा.वि, कुन्दुरका विद्यार्थी मन्दिप लामा प्रथम भएका छन् ।
त्यस्तै ओल्ड क्यापिटल बोडिङ स्कुल, रानीवनकी छात्रा प्रजिता बानिया द्वितीय र शक्ति मा. वि. पाटेचौरकी छात्रा समिना पन्त तृतीय भए।
विजयी प्रथम, द्वितीर र तृतिय विद्यार्थीहरूलाई क्रमशः ७०००, ५०००, ३००० नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो। साथै सम्पूर्ण सहभागि प्रतिस्पर्धी विद्यार्थीहरूलाई पनि सहभागिताको प्रमाण पत्रको साथै आवतजावत खर्च स्वरूप नगद रू. १००० हस्तान्तरण गरिएको थियो ।
प्रतियोगिता दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ ईन्जिनियर ईश्वरचन्द्र बानियाको अध्यक्षता तथा गो. न. पा. का मेयर कृष्णरानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। स्मृतिकेन्द्रका महासचिव कपिलचन्द्र खनालले संस्थाको परिचयात्मक टिप्पणी सहित स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सचिव जनार्दन कट्टेलले सञ्चालन गरेका थिए । कार्यक्रममा सरस्वती मावि आहालेका प्राचार्य पुरुषोत्तम भट्टराई र वडा अध्यक्ष ऋषिराम खत्रीले मन्तव्य राखेका थिए ।
बिद्यार्थीहरूको ज्ञान अभिवृद्धि तथा ब्यक्तित्व बिकासको निम्ति आयोजित उक्त कार्यक्रममा छात्रछात्राहरू, शिक्षकहरू, अभिभावकहरू, स्मृतिकेन्द्रका पदाधिकारीहरू लगायत जनसाधारणहरूको ठूलो उपस्थिति थियो।