
‘इलामे जेठो’ शिव अधिकारी,इलाम
१
जनता र देश दुवै, पाटो सम्झिनेलाई ।
कर्तव्य र अधिकारको, बाटो सम्झिनेलाई ।
यस्ता वीर सपूतमा, मेरो श्रद्धाञ्जली,
आफ्नो देशको मुठ्ठी मुट्ठी, माटो सम्झिनेलाई ।
२
न्यायमूर्तिहरु सबै, कालो कोटमा छन् ।
शुद्ध बन्न सक्दैनन् यी, सबै खोटमा छन् ।
यस्ताबाट जनताको, न्याय मिल्छ के ?
दलालीमा बिक्नेहरु, सबै नोटमा छन् ।
३
असल खराब छुट्याउने, को छ अब यहाँ ?
पाखण्डीलाई ढुट्याउने, को छ अब यहाँ ?
तेल पानी एकै ठाउँ, पिना बाहिर भो,
पर्गेलेर छुट्याउने, भन को छ यहाँ ?
४
कति बोक्नु ? बोक्दाबोक्दै, काँध भत्किसक्यो ।
यता थुन्नु कि उता थुन्नु ? बाँध भत्किसक्यो ।
चारैतिरबाट यहाँ, हमला छ पूरै,
यो हेपाहा प्रवृत्तिले, साँध भत्किसक्यो ।
५
प्रस्ताव राख्नेका त मिठा, बातै बात होला ।
एकपछि अर्को गर्दै, खातै खात होला ।
आयो प्रस्ताव भन्दैमा नि, आँखा नचिम्लिनु,
भोलि आफ्नो जिन्दगीमा, घातै घात होला ।