
डा. विदुर चालिसे, काठमाडौं
‘तेरो दिमागमा गोबर भरिएको छ !’
बच्चालाई लठ्ठीले स्वाँठ्ठ पिडुँलामा हिर्काएपछि ऊ रन्थनिएर भित्तातिर अडेस लाग्नपुग्यो । ईश्वरले फेरि माया गरेर सोधे ।
‘दुख्यो कि !’
आमाको गर्भबाट जन्मन लागेको अर्काे बच्चाले जन्मनुअगाडि ईश्वरलाई प्रार्थना गरेर भन्यो ।
‘भगवान लोकतन्त्रमा जन्म लिनुको विशेषता ?’
‘कान हराउनु, मुख कराउनु !’
ईश्वरले गर्भबाट हात जोडेर जन्मन लागेको बच्चालाई सम्झाइ बुझाई गरे । उसलाई ईश्वरले घँचेटेर आमाको गर्भबाटै हुत्याएर भने ।
‘अब मान्छे भएर जन्मनुको कर्तव्य पूरा गर !’
‘के पूरा गर्ने प्रभु !’
‘कर्तव्य मुद्दा !’
कर्तव्य पूरा गर्न च्याँ गरेर करायो । यसरी करायो कि उसलाई कसैले थप्पड लगाए झैं लाग्यो । हुँर्कंदै थियो । कसैले गालामा टोकिदियो । कसैले नाकतिर निमोठ्यो । कसैले ढाँडमा पिट्यो । ऊ रून र चिच्याउन लाग्यो । उमेर बढ्दै गयो । फेरि कसैले प्रयोग गर्न थाल्यो । उसलाई पनि कसैले भन्यो ।
‘गोबर गणेश !’
‘म धर्म सापेक्ष हुँ !’
जब एकदिन गोबर गणेशले मानिसको दिमागको अनुसन्धान गर्न प्रयोगशाला तयार गर्याे । पवित्रपानी टाउकोबाट उत्पादन गरेर फाल्छ भन्नेकुरा पत्ता लगायो। नेताहरू छटपटाए । तिनले फेरि भन्न थाले ।
‘पवित्र गोबर पानी !’
ईश्वरले ती बच्चाहरूलाई परीक्षा लिने विचार गरेर सोधे ।
‘भैंसी र गाईमा के फरक छ ?’
‘पिडुँलाको सुम्ला !’