back

सरकार गठनको डेढ महिनामै पाँच मन्त्रालय नेतृत्वबिहीन

वि.सं.२०७९ माघ २४ मंगलवार

237 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । एमाले र माओवादी केन्द्रसहित सात दलको सहमतिमा पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले पुस ११ मा आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । जसमा तीन मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको थियो ।

सरकार गठनको झण्डै एक महिनापछि माघ ३ मा मात्रै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तार गरेपनि प्रचण्डले दुई मन्त्रालय वन तथा वातावरण र युवा ता खेलकुद मन्त्रालयको भने जिम्मेवारी तोकेको थिएनन् ।

सरकार गठनको डेढ महिना पुग्दा पनि प्रचण्डले दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्न सकेका थिएनन् । यस्तोमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारबाट बाहिरिएको छ ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको माघ १३ को फैसलापछि लामिछानेको सांसद र गृहमन्त्रीको पद गएको थियो । अदालतको फैसलापछि गैरसांसद बनेका लामिछाने पुनः गृहमन्त्रालयकै जिम्मेवारीमा फर्किने दाउमा थिए । तर, गृह मन्त्रालयकै विषयमा किचलो पर्दा रास्वपा पूर्णंरुपमा सरकारबाट अलग भएको छ ।

रास्वपाका बाँकी सबै मन्त्रीले माघ २२ मा राजीनामा बुझाएका छन् । रास्वपा बाहिरिएसँगै थप तीन मन्त्रालय पनि नेतृत्वविहीन बनेको छ । रास्वपा अलग भएसँगै गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि प्रचण्डको काँधमा थपिएको छ ।

राष्ट्रपतिको निर्वाचनअघि मन्त्रिपरिषद् विस्तार असम्भव

निर्वाचन आयोगले आगामी फागुन २५ गतेका लागि राष्ट्रपति चयन गर्न निर्वाचनको मिति तय गरेको छ । जसअनुसार अबको एक महिनामा राष्ट्रपतिको निर्वाचन हुनेछ । तर, राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनभित्र ठूलो विवाद र अविश्वास सिर्जना भएको छ ।

एमालेले सरकार गठनपूर्व भएको सहमतिअनुसार राष्ट्रपतिको उम्मेदवार आफ्नो दलको हुनुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’को कुरा उठाएको छ । यस्तोमा सत्ता गठबन्धन नै कायम रहन्छ वा रहन्न भन्ने प्रश्न उब्जिएको छ ।

सत्ता गठबन्धनकै भविष्य अनिश्चित बनिरहेको बेला मन्त्रिपरिषद् विस्तार हुने देखिन्न । प्रधानमन्त्री प्रचण्डले पनि मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकतामा राखेका छैनन् ।

प्रधानमन्त्री निकट माओवादी केन्द्रका नेता गठबन्धनभित्र नयाँ सहमति नगरी मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको बताउँछन् । “केही अविश्वास र विवाद देखिएको छ, यो हल नगरी अरु विषयमा प्रवेश हुने अवस्था छैन”, उनले भनेका छन्, “गठबन्धनलाई निरन्तरता दिने हाम्रो प्रयास हो, तर एमालेको निर्णय सबैभन्दा महत्वपूर्णं हुन्छ ।”

वि.सं.२०७९ माघ २४ मंगलवार १३:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD