
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले उक्त कुराको जानकारी दिँदै देशमा व्याप्त चर्को महँगी र चर्को व्याजका विरुद्ध प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।
‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’ पत्रकार सम्मेलनमा उनले भने ।
विश्वकर्माले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने पार्टीले निर्णय गरेको समेत बताए ।
उनले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध तथा जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने बताउँदै मिटरव्याजीलाई राज्यले अपराधी घोषणा गर्नुपर्ने माग समेत राखे ।
विश्वकर्माले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको तीनबुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरु रिहा गर्नुपर्ने र मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेको समेत बताए ।
‘तीनबुँदे सहमति अनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरु मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरु विभिन्न जेलहरुमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्व बन्दी कमरेडहरु मुक्त गर्नुपर्छ । साथै मुद्दाहरु खारेज गरिनुपर्छ ।’