
काठमाडौं । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) सरकारमा छैन । मन्त्रालय बाँडफाँटमा चित्त नबुझाएको जसपाले बाहिरै रहेर समर्थन गरिरहेको छ । सरकारमा सहभागि नहुनु तर, सरकारलाई समर्थन दिइरहनु, जसपाका निम्ति अनौठो परिस्थिति बनेको छ । यही अनौठो परिस्थितिले जसपा विभाजित पनि छ ।
अहिले जसपाको शीर्ष नेतृत्व तह कसरी अगाडि बढ्ने ? भन्नेमा विभाजित बनेको छ । निर्वाचन हारेकै कारण जपसाभित्र अध्यक्ष उपेन्द्र यादव सर्वमान्य नेता बन्न सकेनन् । जसको कारण पनि जसपामा स्पष्ट रुपमा तीन वटा धार देखा परेका छन् ।
अध्यक्ष यादव अस्पष्ट हुँदा अशोक राईले एउटा महत्वपूर्ण धार बनाएका छन् भने अर्का नेता राजेन्द्र श्रेष्ठले पनि बेग्लै धार सिर्जना गरेका छन् । जसपाभित्र राईले एमालेसँगै सहकार्य गरेर जानुपर्ने अडान लिइरहेका छन् भने श्रेष्ठ वर्तमान गठबन्धनबाट बाहिरिनुपर्ने अडानमा छन् । यस्तोमा अध्यक्ष यादव पूर्ण अन्योलमा देखिन्छन् ।
यादव निर्णयविहीन बनेकै कारण लामो समयदेखि नै जसपा ढुलमुले चरित्रमा देखिएको छ । जसपाभित्र आगामी लाइन के ? भन्ने स्पष्ट छैन ।
उपेन्द्रलाई भारी बन्दै अशोक राई
जसपामा उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष हुन् भने अशोक राई संघीय परिषद् अध्यक्ष हुन् । यस्तोमा संसदीय चुनावबाट यादव निर्वाचित हुन सकेनन् भने राई निर्वाचित भएर आएका छन् ।
एमालेकै सहयोगमा चुनाव जितेका राई चुनावपछि पनि एमालेतिरै ढल्कीएका छन् भने यादव चुनाव हारेकैले एमालेसँग तिव्र असन्तुष्ट छन् । यादवले चुनावी परिणाम आएलगत्तै ‘एमालेसँगको सहकार्य तोडिएको’ भन्ने अभिव्यक्ति नै दिएका थिए ।
तर, एमालेसँग सहकार्य तोडिएको यादवको अभिव्यक्तिले काम दिएन । जसपा सत्ता साझेदारीमा आउन बाध्य बन्यो । पार्टीभित्र अशोक राई हाबी हुँदा जसपा त्यस्तो परिस्थितिमा पुगेको थियो ।
तर, सत्ता सहकार्यमा आएपनि एमालेले भने जसपालाई सहयोग गरेन । एमालेले रास्वपा र राप्रपालाई अगाडि सार्दै जसपालाई सरकारमा ल्याउन नै चाहेन । जसको परिणाम जसपाभित्र किचलो बढ्दो छ ।
अहिले सत्ता गठबन्धनबाट बाहिरिन पनि नसक्ने र रहन पनि नसक्ने अवस्थामा जसपा छ । तर, निकास अध्यक्ष यादवसँग छैन । एमालेसँगै सहकार्यको नारा दिएका राईको संसदीय दलमा बलियो प्रभाव रहेको कारण पछिल्लो परिस्थिति बनेको हो ।
‘कोर्ष करेक्सन’को लाइनमा श्रेष्ठ
अशोक राईको अडानले समग्र जसपा ढुलमुले बनिरहँदा अर्का नेता राजेन्द्र श्रेष्ठ भने ‘कोर्ष करेक्सन’को लाइनमा देखिएका छन् । जसपा उच्च स्रोतले बताएअनुसार श्रेष्ठ तत्कालिन कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई ब्यूँताउने प्रयासमा लागेका छन् । बताइएअनुसार श्रेष्ठले नियमितरुपमा उक्त विषयमा पहल पनि गरिरहेका छन् ।
अशोक राईको एमालेसँगै सत्ता सहकार्यको लाइनले परिणाम नदिइरहेका बेला श्रेष्ठ पनि जसपाभित्र केही बलियो देखिएका छन् । तथापी, यादव निर्णयबिहीन बनेको कारण श्रेष्ठको लाइनले आकार लिइसकेको छैन ।
हालकै अवस्थामा रहिरहे पार्टी नै पुनः विभाजित त हुँदैन भन्ने चिन्ता पनि जसपामा देखिन्छ ।