काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)को आयोजनामा आगामी चैत्र दाेस्राे साता उर्जा सम्मेलन ‘पावर समिट २०२३’ आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इपानले चैत्र दोस्रो साता (१४ र १५ गते) सम्मेलन हुने जानकारी दिएको हो ।
इपानले आठौं चरणको उर्जा सम्मेलनको नारा ‘हरित ऊर्जाको बजार विस्तारिकण’ राखेको छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तराष्ट्रिय प्रतिनिधिसहित स्वेदशी र विदेशी गरी करिब ८०० जनाको सहभागिता रहने इपानले बताएको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जनाएअनुसार उर्जा सम्मेलनमा नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि, अन्तरदेशीय विद्युत व्यापारलगायतका विषयका सत्रहरू सञ्चालन हुनेछन् । उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताका निम्ति यो सम्मेलन एक अद्धितीय अवसर हुने उनको आचार्यको भनाई छ ।
पावर समिट हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठूलो अवसर भएको इपानले जनाएको छ । नेपालमा पछिल्लो दशकमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको र उत्पादित ऊर्जाको लागि अव मागलाई तीव्र बनाउनुपर्ने अवस्थाको सिर्जना भएको पनि इपानले जनाएको छ ।
वि.सं.२०७९ फागुन ३ बुधवार १७:४१ मा प्रकाशित






























