काठमाडौं । मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक पक्राउ परेका छन् ।
ट्राभल्सका नाममा मानव वेचविखनमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका–५ घर भइ चिरन्जीवी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
कुवेतको रोयल रेष्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरुमा पठाइदिने प्रलोभन देखाई डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समेतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानवबेचबिखन व्यूरो अनुसन्धान व्यूरोको पहलमा कुवेतस्थित नेपाली दूतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्धार गरिएको थियो ।
सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ पानीपोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ फागुन ३ बुधवार १८:०३ मा प्रकाशित






























