
काठमाडौं । केही समयदेखि नै नेपाल टेलिकमको टेलिफोन प्रणालीमा समस्या देखिन थालेको छ । टेलिफोन प्रणालीमा समस्या आउँदा टेलिकमका उपभोक्ता निकै समस्यामा परिरहेका छन् ।
गत माघ ३ मा टेलिकमको टेलिफोन प्रणालीमा दिनैभरजसो समस्या आएको थियो । त्यस्तै समस्या बुधबार दिउँसो पनि देखियो । तर, टेलिकमले भने सामान्य ट्राफिक समस्या आएको बताएको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले ट्राफिक कन्जेसनका कारण समस्या आएको बताए । “बुधबार ट्राफिक कन्जेसनका कारण सामान्य समस्या आएको हो, थोरैबेर त्यस्तो भयो”, अधिकारीले भनेका छन्, “समस्या समाधान भइसक्यो, अहिले त्यस्तो छैन ।”
तर, प्रवक्ता अधिकारीले जस्तो तर्क गरेपनि बारम्बार समस्या देखिइरहनु भने टेलिकमको लापबारबाही नै भएको देखाउँछ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको छानबिन समितिले पनि बारम्बार समस्या देखिनु टेलिकमको लापरबाही भएको निष्कर्ष निकालेको थियो ।
टेलिकमले बिलिङ सिस्टममा कार्ड फेर्ने क्रममा लापबाही गरेको निष्कर्ष सञ्चार मन्त्रालयको छानबिन समितिको थियो । सरकारले फोन कलको बढी चाप हुने समयमा प्रणाली मर्मतको काम नगर्न पनि सचेत गराएको थियो । तर, टेलिकमले त्यस्ता विषयलाई वास्ता गरेको छैन ।
दूरसञ्चार प्राधिकरणले बनायो छानबिन समिति
नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन नै गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै अनुगमन विभागका निर्देशक विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ ? एक पटक समस्या आउँदा कति नोक्सान भयो ? लगायतका विषयमा उक्त समितिले छानबीन गर्ने बताइएको छ । रोय नेतृत्वको समितिले आगामी शुक्रबारसम्म प्रतिवेदन सार्वजनिक गर्नेछ ।
किन आउँछ समस्या ?
दुरसञ्चार प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्र नेटवर्कमा समस्या आउनुमा आन्तरिक र बाह्य दुवै कारण हुने बताउँछन् । उनका अनुसार बाह्यभन्दा आन्तरिक कारण बढी हुने गर्दछन् ।
“समस्या कसरी आयो भन्ने अध्ययन गरेपछि मात्रै भन्न सकिन्छ, तर अहिलेसम्मका समस्या सबैभन्दा बढी आन्तरिक कारणले आएका देखिन्छन्”, मीश्रले भनेका छन्, “सडक, ढल, विद्युतका कामहरु गर्दा फाइबर काटिने समस्या बढेको र त्यसले पनि समस्याहरु सिर्जना गरिरहेको छ ।”
कहिलेकाहीँ ह्याकरका समस्या पनि आउनसक्ने उनले बताए । तर, अहिले नेपाल टेलिकमको देखिएको समस्या छानबिनपश्चात मात्रै थाहा हुने उनले बताए । उनका अनुसार यसअघि देखिएको समस्या आन्तरिक कारणबाटै सिर्जित भएको थियो ।