काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ४ बजे बस्ने उक्त बैठकमा राष्ट्रपति निर्वाचन बारे छलफल हुने ऐजेण्डा रहेको छ ।
फागुन २५ गते हुने नयाँ राष्ट्रपतिको निर्वाचनका लागि अबको ५ दिन (फागुन १३ गते शनिबार) मा मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार मुख्यत कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र यसको टुंगो लगाउन छलफलमा जुटेका छन् ।
सात दलीय गठबन्धनबीच पुष १० गते राष्ट्रपति र सभामुख पद एमालेले लिने सहमति भएपनि नेकपा माओवादी केन्द्रले पछिल्ल दिनमा राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडान राख्दै आएको छ । यसमा नेकपा एमालेले भने पूर्वसहमति अनुसार नै जानुपर्ने अडान राख्दै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले पनि आफ्नो पार्टीले चाहेको व्यक्ति नै राष्ट्रपति बन्ने दावी गर्दै त्यसमा आफुहरुलाई सघाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आग्रह गर्दै आएका छन् । उता प्रचण्ड र ओलीबीच राष्ट्रपतिकै विषयमा भएको पटक–पटकको भेटघाट तथा छलफलमा असमझदारी बढेपछि प्रचण्डले कांसेसँग पनि छलफल र संवाद बढाएका छन् ।
कांग्रेसले राष्ट्रपतिमा सघाउन प्रचण्डसँग गरेको औपचारिक आग्रहमा प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताउँदै आएका छन् ।
वि.सं.२०७९ फागुन ८ सोमवार ०८:२० मा प्रकाशित






























