काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायीले सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेका छन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयूक्त पत्रकार सम्मेलन गर्दै सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा प्रणाली चलाइएको बताए । उनले सुन आयातको कोटा प्रणालीका कारण बजारमा सुनको माग बढी भएपनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताए ।
शाक्यले भने, ‘सुनचाँदीको सहज तरिकाले कारोबार गर्न सक्ने नीति नियम अहिलेको आवश्यकता हो । कोटा सिस्टम निश्चित समयका लागि हो, सधैंका लागि होइन, अहिलेसम्म कोटा सिस्टम लागू भइरहेको छ, त्यो हट्नुपर्छ र बजारको मागअनुसार आयात गर्न पाउनुपर्छ ।’
महासंघले बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा सुनको माग आएपनि १० किलो मात्रै आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीले विना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार बजारलाई केही धाने पनि अहिले प्रहरीले अनावश्यक दुःख दिने गरेको उनको भनाइ छ ।
महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १७:५३ मा प्रकाशित






























