काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेर्पा समुदायको महान पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको भन्दै देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति रहेको र तिनीहरूको रक्षा र प्रवद्र्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको समेत बताएका छन् ।
विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने विश्वास राख्दै प्रधानमन्त्रीले भनेका छन्, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छ ।’
प्रधानमन्त्रीले ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत गर्ने बताउँदै विश्वास समेत व्यक्त गरेका छन् ।
वि.सं.२०७९ फागुन ९ मंगलवार ०८:४६ मा प्रकाशित






























