काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नको लागि बालुवाटार पुगेका हुन् ।
लाेसपाको बैठकबाट अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउने निर्णय भएको छ । सोहीअनुसार अध्यक्ष ठाकुर प्रधानमन्त्री दाहालसँग कुरा गर्न आज बालुवाटार पुगेको नेता केशब झाले जानकारी दिए ।
अध्यक्ष ठाकुरले आफ्नो साथमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लालाई पनि लगेका छन् ।
महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपतिमा सहयोगका लागि प्रधानमन्त्रीसँग आग्रह गरिने नेता केशब झालेले बताए । उनीहरुले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी गरेका छन् ।
तर, झाले देउवा र ओलीलाई पनि भेट्न भनिएपनि आजै भेट हुनेबारे खुलाएनन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि ठाकुरसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा ओलीले ठाकुरलाई राष्ट्रपतिको लागि प्रस्ताव गरेको चर्चा थियो ।
वि.सं.२०७९ फागुन ९ मंगलवार १७:२० मा प्रकाशित






























