काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन ९ गते गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले विद्यालयका पाठ्यक्रम तयार गर्दा बीमा विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिँदै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरु पनि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।
सुन्दरबजार नगरपालिकाका उपप्रमुख भवानी केसीले नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई समेत समावेश गरिने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोकप्रसाद काफ्लेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी, जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
वि.सं.२०७९ फागुन १० बुधवार १२:४३ मा प्रकाशित