काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो शुरु भएको छ । बिहीबार सहरी विकास मन्त्री बिक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा सुरु भएको एक्स्पो फागुन १४ गतेसम्म सञ्चालन हुने छ ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजिङ एण्ड इन्भेसटमेन्ट एक्स्पो, नेपाल हेवी इक्वीपमेन्ट एण्ड कन्स्ट्रक्सन अन्तर्राष्ट्रिय एक्स्पो पनि सञ्चालन भएको हो ।
निर्माण कम्पनी, डिलर, सब–डिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी ख्यातिप्राप्त ब्राण्डहरुका २ सय भन्दा बढी स्टल रहेका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल लगाएतका सामाग्रीहरु राखिएको छ ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार ०८:०२ मा प्रकाशित