काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरिनुपर्ने अडान लिइरहेका बखत फागुन ७ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । महाराजगञ्जस्थित एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको घरमा दुई नेताबीच घण्टौंसम्म वार्ता चलेको थियो । जुन वार्तामा एमाले अध्यक्ष ओलीले राष्ट्रपति बन्ने प्रस्ताव एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राखेका थिए ।
ओलीले नेपाललाई प्रस्ताव राखिँरहँदा एकीकृत समाजवादी मात्रै तरंगित भएन समग्र राजनीति नै तरंगित बनेको थियो । माओवादी केन्द्रले जुन योजनाका साथ राष्ट्रिय सहमतिको एजेण्डा अगाडि सारेको थियो उक्त विषय पनि धरमराएको देखिन्थ्यो ।
तर, स्वयम् नेपाल ओलीको प्रस्तावमा पूर्णं विश्वस्त देखिएनन् । उनी एमालेभन्दा माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतका दललाई प्राथमिकता दिँदै छलफल गर्न पुगे । नेपाल स्वयम् उक्त प्रस्तावको विरुद्धमा उभिँदै कांग्रेसलाई राष्ट्रपतिमा अघि सार्ने निर्णयमा पुगे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्तावमा अध्यक्ष नेपालको पनि हात छ ।
राष्ट्रपतिमा आधा कार्यकाल भनेपछि झस्किएका थिए माधव
राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने निर्णय गरेसँगै माधव नेपालले ओलीको प्रस्ताव अस्वीकार गरेको कारण खुलाएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका लागि कर्णाली पुगेका अध्यक्ष नेपालले राष्ट्रपति आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको खुलाएका हुन् ।
उनले ओलीबाट संविधान र व्यवस्थामाथि नै जोखिम देखिएसँगै पछिल्लो निर्णय गर्न बाध्य भएको पनि बताएका छन् । “नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ, यसमा माओवादी केन्द्र त छँदैछ”, उनले भनेका छन्, “हाम्रो आवश्यकता व्यवस्था र संविधानको रक्षा पनि हो ।”
अध्यक्ष नेपालले तत्कालिन नेकपा ब्यूँताउने कुरा गरेको तर, ओलीले नमानेको पनि बताएका छन् । उनले पार्टी एकता गराउने र पुरानै प्रवृत्ति दोहो¥याउने अवस्था आएपछि पनि पछिल्लो निर्णयमा पुगेको खुलाएका छन् ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १२:५२ मा प्रकाशित