काठमाडौं । यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि भोली (बुधबार) देखि आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिले निर्वाचनका लागि अधिकतम ४ लाख खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
आयोगका अनुसार आज बेलुका ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि भोली १७ फागुनदेखि चैत ५ गतेसम्म आचारसंहिता लागु हुने छ ।
यस्तो छ खर्च विवरण
निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिले निर्वाचनमा विभिन्न शिर्षकमा अधिकतम ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
जसमा मतदाता नामावली खरिद खर्च १ हजार, सवारी साधन १ लाख, सवारी इन्धन २० हजार, प्रचार प्रसार सामाग्री २० हजार, ढुवानी खर्च १५ हजार, गोष्ठि÷अन्तरक्रिया खर्च १ लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा २० हजार, कार्यालय संचालन ६० हजार, प्रतिनिधि परिचालन ४० हजार र विविध २४ हजार गरी ४ लाख खचए गर्न पाउनेछन् ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदको उम्मेदवारमा मनोनयन दर्ता गराएका छन् । साथै उपराष्ट्रपति पदका लागि उम्मेदवारको मनोनयन दर्ता हुन बाँकी छ ।
वि.सं.२०७९ फागुन १६ मंगलवार १२:५५ मा प्रकाशित