
काठमाडौं । केन्द्रमा सत्ता गठबन्धन भङ्ग भएसँगै त्यसको पराकम्प प्रदेश तहमा पनि देखिन थालेको छ । केन्द्रमा जस्तै प्रदेश तहको सत्ताबाट पनि एमाले बाहिरिने अवस्थामा पुगेको छ ।
पुस १० को सहमतिअनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र प्रदेश १ मा एमाले नेतृत्वमा सरकार गठन भएको थियो । तर, नागरिक उन्मुक्ति पार्टीको असहयोगसँगै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार यसअघि नै ढलिसकेको छ । गत माघ २६ मा विश्वासको मत नपाएसँगै एमालेको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह सरकारबाट बाहिरिएका थिए ।
सुदूरपश्चिमको विषय बेग्लै भएपनि अन्य प्रदेशमा पनि केन्द्रको गठबन्धन भङ्ग हुँदा प्रदेश तहको सरकार पनि ढल्ने अवस्था बनेको छ । यदि सबै प्रदेशमा तत्कालिन सत्ता साझेदारले असहयोग गरे सत्ता ढल्ने निश्चित छ ।
राष्ट्रपति निर्वाचन सहकार्य गरेका आठ दलबीच केन्द्रदेखि प्रदेश तहमा पनि सत्ता सहकार्य गर्ने तयारी छ । यस्तोमा कुनै पनि प्रदेशमा एकल बहुमत नभएको कारण एमालेको सरकार रहने अवस्था छैन ।
राप्रपाको सहयोगले पनि टिक्दैन कार्कीको सरकार
प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । तर, प्रदेश १ को प्रदेशसभामा एमालेसँग बहुमत भने छैन । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० सिट छ भने बहुमतका लागि ४७ सिट आवश्यक पर्दछ । चुनावदेखि सहकार्य गरिरहेको राप्रपाले कार्कीलाई सघाउने निर्णय गरेको छ तर, राप्रपासँग मात्रै ४ सिट छ । एमालेलाई बहुमत जुटाउन थप ३ सिट आवश्यकता पर्दछ । तर, थप तीन सिट जुटाउन सहज छैन ।
प्रदेश १ मा कांग्रेससँग २९ सिट छ भने माओवादी केन्द्रसँगै १३ सिट छ । यसैगरी नेकपा (एस)सँग ४ सिट छ भने जसपासँग एक सिट छ । यस्तोमा एमालेभन्दा बाहिर बहुमत पुग्दछ । आठ दलीय गठबन्धन बनेसँगै कार्की नेतृत्वको सरकार समस्यामा परिसकेको छ ।
खगराज अधिकारी पनि संकटमा
गण्डकी प्रदेशसभामा पनि एमाले एकल बहुमतमा छैन । ६० सदस्यीय प्रदेश सभामा एमालेसँग जम्मा २२ सिट मात्रै छ । यस्तोमा एमालेलाई बहुमत पुर्याउन थप ९ सिटको आवश्यकता पर्दछ । एमालेलाई थप ९ सिट जुटाउने अवस्था गण्डकीमा छैन ।
गण्डकी प्रदेशमा कांग्रेससँग एक्लै २७ सिट छ भने माओवादी केन्द्रसँग ८ सिट रहेको छ । यदि कांग्रेस र माओवादी मात्रै मिले पनि गण्डकीमा सहजै बहुमत पुग्नेछ । अहिलेको समीकरणले मुख्यमन्त्री खगराज अधिकारी स्वतः अल्पमतमा पुगेका छन् ।
लुम्बिनीमा गिरी छिट्टै बाहिरिँदै
केन्द्रको समीकरण फेरबदलसँगै लुम्बिनीमा एमालेको तर्फबाट बनेको सरकार अल्पमतमा परेको छ । लुम्बिनीका मुख्यमन्त्री लिला सरकारबाट बाहिरिने अवस्थामा छन् । ८७ प्रदेशसभामा ठूलो दल एमालेको जम्मा २९ सिट छ । जहाँ बहुमत पुर्याउन एमालेलाई थप १५ सिटको खाँचो पर्दछ । तर, एमालेसँग थप १६ सिट जुटाउने अवस्था छैन ।
समीकरण फेरबदलसँगै एमाले इतर स्वतः बहुमत पुगेको छ । प्रदेशमा कांग्रेससँग २७ सिट छ भने माओवादी केन्द्रसँग ९ र एससँग एक सिट छ । यसैगरी आठ दलीय गठबन्धनमै रहेको नाउपासँग ४, जसपासँग ३, लोसपासँग ३, राजमोसँग १ सिट छ । यस्तोमा एमाले इतर स्वतः बहुमत पुग्नेछ ।
लुम्बिनीमा आठ दलीय गठबन्धन छिट्टै सरकार फेरबदलको तयारीमा पनि देखिएका छन् । आठ दलले सरकार परिवर्तनको निम्ति यसबीचमा भेला पनि गरेका छन् ।