काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् ।
बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।
सांसदहरूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने “अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ । रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ । स्वतन्त्र सांसदहरूको पनि समर्थन छ । उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ” प्रधानमन्त्रीले भने ।
नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेको र अहिले पनि राजनीतिक संकट र चुनौतीकै बिचमा रहेको बताए ।
“पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।”
प्रचण्डले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएर संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताए ।
‘ पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ। हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ।” प्रचण्डले भने ।
आफुहरुसँग विगतका धेरै तीता अनुभवहरू रहेको बताउँदै राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक रहेको तर, विगतमा त्यस्तो नभएको बताए ।
“यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”प्रचण्डले भने ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गरेका थिए ।
वि.सं.२०७९ फागुन १८ बिहीवार १७:०७ मा प्रकाशित






























