Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आफ्नो सपनालाई माटोमा मिसाएर कृषिमा लागेकी लक्ष्मीले गाउँको नाम नै फेरिन्



गलकोट । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।

विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीक्षा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उनको परिवारले शर्त मञ्जुर गरे.र पालना पनि ।

लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाले ।

लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुनिन् तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो ।

लक्ष्मीका श्रीमान्ले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेखाका थिए । त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उनका देवरलाई लिन गङ्गाबहादुर घर पुगे । प्लस टु पढ्न लक्ष्मी श्रीमान्सँग कुश्मिसेरा आइन् । त्यो समयमा लक्ष्मीका श्रीमान्ले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गरेका थिए ।

प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिइन् । हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन । त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमान्सहित बागलुङ बजार आइन् । परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गरे ।

श्रीमान्ले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गरिन् । कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो ।

आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमान्ले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थालिन् । देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान् गङ्गाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ ।

श्रीमान्लाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्छन् । “डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्छिन्, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”

छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आएका छन् । पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्छिन् । फार्ममा लक्ष्मीका देवर–देउरानी छिन् । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गरेमी छिन् ।

कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ । म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उनकोे नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ ।

लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम