काठमाडौं । राष्ट्रपति निर्वाचन मुखैमा हुँदा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कित्ता स्पष्ट पारेको छैन । २४५० मतभार भएको राप्रपाले राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई सघाउने स्पष्ट छैन ।
राजावादी राप्रपाभित्र पछिल्लो समय निर्वाचनमै सहभागि हुने वा नहुने भन्ने कोणबाट समेत छलफल चल्न थालेको छ । राप्रपाभित्र निर्वाचनमा सहभागि हुन नहुने भन्ने मत पनि बलियो रहेको राप्रपाका केही नेताहरुले बताएका छन् ।
हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुनर्स्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेन्डालाई बोक्दै आएकाले राप्रपा राष्ट्रपतिको चुनावमा सहभागी हुन नहुने मत बलियो गरी आएको छ । निर्वाचनमा सहभागीता जनाउँदा आफ्ना एजेन्डामा प्रभावित हुने नेताहरुको बुझाई छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसरी सहभागि हुने भन्ने निर्णय लिनेछ । राप्रपा तटस्थ बस्ने भन्ने कोणबाट आएका भनाइबारे प्रवक्ता श्रेष्ठले त्यस्तो नहुने बताएका छन् । तथापी, जे निर्णय हुने बैठकबाटै निर्णय हुने उनले बताए ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् । आठ दलीय गठबन्धनको साथ भएको कारण पौडेललाई सहज देखिएको छ भने नेम्वाङलाई एमालेबाहेकको साथ देखिएको छैन । जहाँ राप्रपा कुन पक्षमा उभिने भन्ने विषयले निर्णायक अर्थ लिने देखिन्न ।
वि.सं.२०७९ फागुन २४ बुधवार १३:०२ मा प्रकाशित