
नारीलाई काली, भद्रकाली हुँदै सति पार्वती र गौरी बनाइसकेपछि मातृ सत्ताको शक्ति र नेतृत्व खत्तम त भैसकेको थियो । यसलाई युगौंसम्म स्थायित्व प्रदान गर्न महिलाहरुको भावना र चेतनामा हमला गर्न थालियो । यसका लागि विभिन्न कथा तथा संस्कारहरु ल्याइयो, जसमा तिजको वर्त, स्वस्थानी र सन्तोषी माताको वर्त आदि । महिलामा पतिप्रति भक्तिभाव उमार्ने, सहनशीलता, पतिव्रता, त्याग, पतिलाई परमेश्वर मान्नुपर्ने धेरै ग्रन्थहरु लेखिए ।
महिलालाई कन्यादान दिने प्रचलनले महिला वस्तु वा सम्पत्ति जस्तै भएका छन् । पुरुष पिताले दान दिन्छ र पुरुष पतिले स्वीकार गर्दछ । महिलाले कपालमा धागो, नाकमा नत्थी, घाँटीमा पोते, हातमा चुरा, बाला (दासताको चिन्ह) गोडामा पाउजु (बाधाको चिन्ह) बाँधेर विवाह मण्डपमा नारीलाई सजाइन्छ । दुलाहाले सिन्दुर लगाइदिन्छ (आफ्नो विजयको संकेत) महिलालाई पूर्ण पाल्तु बनाइन्छ । रुनु शिवाय उनीसँग केही विकल्प रहँदैन, त्यसैले विवाहमा दुलही खुब रुन्छन् । उनको परिचय बदलिन्छ, देश अनि ठेगाना बदलिन्छ । यो सबै कर्मकाण्ड निकै भद्दा र अपमानजनक छ ।
दास व्यवस्थामा मान्छेको पनि व्यापार गरिन्थ्यो । त्यतिखेर मान्छेलाई बेच्ने, कुट्ने, र मार्ने पनि गरिन्थ्यो । त्यति बेला यी घटनामा परेर कति जना गहभरी आँशु झार्दथे भने कतिपय रिसले चुर हुन्थे । कतिपय दारा किट्थे । कतिपय मुठ्ठी कसेर त्यो अन्यायपूर्ण व्यवस्थाको विरोध गर्दथे । आज त्यो क्रुर र निच प्रकारको मानिने दास प्रथा अतितको विषयवस्तु बनिसकेको छ ।
सामान्य रूपमा हेर्दा हिंसा शब्द शारिरिक यातना वा कुटपिटसँग सम्बन्धित देखिन्छ तर, यसले व्यापक अर्थ ओगट्छ । आज पनि महिलाहरू ठूलो संख्यामा घरेलु हिंसाबाट आतंकित छन् । सासूले बुहारीमाथि गर्ने र पतिले पत्नीमाथि कुटपिट गर्ने, महिलाको इच्छा विपरीत यौन दुराचार गर्ने, पुत्र लाभ नभएकोमा महिलामाथि हुने मानसिक यातना आदि घरेलु हिंसाका केही उदाहरण हुन् । धेरै महिलाहरू पतिको जबरजस्ती करणीबाट पीडित छन् । तर, उनीहरू यसलाई उजुरीको विषय बनाउने साहस गर्न सकेका छैनन् । यद्यपि घरेलु हिंसासम्बन्धी अपराध, अनुसन्धान तथा सजायको व्यवस्था गर्न बनेको विधेयक पारित भैसकेको छ । तर, अझै पनि घरेलु हिंसाबाट पीडित महिलाहरूले उजुरी दिने साहस धेरै कमले मात्र गर्दछन् । आजको समाज, संस्कृति, धर्म आदिले पुरुषले महिलामाथि गर्ने हिंसालाई वैधानिकता दिने काम गरेको छ । त्यसकारण पुरुषको ज्यादतीविरुद्घ उजुरी दिँदा महिलाहरू आफूलाई असुरक्षित महसुस गरेको स्थिति छ ।
बहुबिवाह पनि महिलाहरूका लागि एक प्रकारको उत्पीडन नै हो । ‘मर्दकी दश वटी’ भन्ने उखानै छ । पुरुषले अर्को बिवाह गर्छ । त्यसलाई समाजले सामान्यरूपमा लिन्छ । त्यही काम एउटी महिलाले गर्छे भने त्यो अपराधजन्य हुन्छ । विषय एउटै हुन्छ तर, मापदण्ड बेग्लै हुन्छ । यसरी एउटै विषयमा समाजको मापदण्ड भने दुई प्रकारको हुने गरेको छ ।
महिलाहरू अहिले पनि बहुबिवाहबाट पीडित रहेको देखिन्छ । दुर्गमका गाउँमा त अवस्था अझै दर्दनाक भेटिन्छ । ‘मर्दका दश वटी’ भन्ने उखानले समाजमा महिलामाथि सौता हाल्नको लागि खुल्ला छुट दिन्छ वा प्रोत्साहन दिन्छ ? यसरी बहुबिवाहले पुरुषलाई एकैपटक एकभन्दा बढी महिलासँग व्यभिचार गर्ने छुट दिन्छ भने महिलाहरू सम्पत्तिमा समान अधिकारको अभावमा अनेक यातना सहेर पनि सौता र लोग्नेसँगै कष्टप्रदः जीवन बिताउन बाध्य छन् ।
दाइजो प्रथा पनि महिला हिंसाको एउटा रूप हो । खासगरी तराईलाई यस समस्याले निकै गाँजेको छ । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् । यसरी श्रीमतीलाई जीवनसाथीको रूपमा हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र सामन्तवादी चिन्तनबाट ग्रसित हुँदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्य व्यवस्थाका नाइकेहरूले बिवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ ।
मानव समाजले २१औँ शताब्दीमा पाइला टेक्दासम्म पनि नेपाली समाजमा बोक्सीको नाममा महिलाहरूलाई मलमूत्र खुवाउने जस्ता अपराधजन्य काम हुनु ज्यादै लज्जाजनक कुरा हो । समाजको परिभाषामा बोक्सी त्यही हुन्छ, जो असहाय, कमजोर, अशिक्षित र गरिब छन् । आजसम्म धनी, बलियो मान्छे बोक्सी बनेको छैन । के बोक्सी विधा कमजोर, असहाय, अशिक्षितले मात्र सिक्ने विधा हो र ? यसबाट यो प्रष्ट हुन्छ कि बोक्सी हेला गरेर प्रयोग गरिने शब्द हो । बोक्सी यदि विद्या हो भने त्यसको गुरु को ? त्यो कुन विश्वविद्यालयमा पढाइन्छ ? त्यो विद्या पुरुषले किन पढ्दैनन् ? यसको जबाफ बोक्सी भनी आरोप लगाउनेहरूले दिनुपर्छ । वर्तमान विश्व, विज्ञान र प्रविधिले यति शक्तिशाली बनिसक्दा पनि नेपाली मानसपटलमा बोक्सीको भुत हट्न सकेको छैन । नेपाली मानसिकता अझ पनि सामन्ती, रुढिवादी र अन्धविश्वासको घेराबाटमाथि उठ्न सकेको छैन । बोक्सी जस्तो अलौकिक शक्तिको कुरा गरेर महिलालाई यातना दिने र मलमूत्र खुवाउने कार्य हुनु बिडम्बनाको विषय हो । समाजमा आज पनि सयौँ महिलाहरू बोक्सीको आरोपमा प्रताडित बनिरहेका छन् ।
चेलीबेटी बेचबिखन नेपालको सन्दर्भमा एउटा प्रमुख समस्या बनेको छ । नेपालमा वर्षेनी पाँचदेखि सात हजारसम्मको संख्यामा नेपाली चेलीहरू भारतको बेश्यालयमा बेचिने गरेको तथ्यांक केही वर्ष अगाडि नै सार्वजनिक भएको थियो । डेढ लाखभन्दा बढी नेपाली महिलाहरू भारतका विभिन्न शहरमा शरीर बेचिएको बताइन्छ । अझ भारतको बाटो हुँदै संसारका अन्य मुलुकमा पुर्याइएका नेपाली चेलीहरूको अवस्था ज्यादै डरलाग्दो छ । यसरी भारतको खुल्ला सीमानाका कारण मानव तस्करीलाई सहजता पैदा भएको छ । विशेष गरी दुर्गम बस्तीका सिधा, अशिक्षित गरिब महिलाहरूलाई जागिर लगाइदिने बहानामा वा बिवाह गरेर घुम्न लैजाने बहानामा बेचबिखन हुने गरेको छ । आफन्तजनबाट पनि यस्ता क्रियाकलाप प्रशस्तै हुने गरेको पाइन्छ । मान्छेले मान्छेलाई बिक्री गर्ने जस्तो जघन्य अपराध हँुदासमेत राज्य मुकदर्शक बनेर बसेको देखिन्छ । चेलीबेटी बेचबिखन मानव तस्करहरूको नाफा कमाउने ठूलै धन्दा बनिरहेको छ । यौन व्यापारको राजधानी मानिने भारतको शहर मुम्बईमा वेश्याबृत्ति गर्ने कुल महिलाहरूको आधा संख्या नेपालीहरू रहेको अनुमान छ । तर, यसरी लाखौँ महिलाहरू भारतको वेश्यालयमा नारकीय जीवन व्यतित गर्न बाध्य बनाउने मानव तस्करहरू समाजमा खुलेआम हिँडिरहेका छन् ।
बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारिरिक मात्र होइन, मानसिकरूपमा समेत गम्भीर आघात पु¥याउँदछ । तर, नेपालको सन्दर्भमा बलात्कारका कैैयौँ घटना बाहिर आउन सक्दैन् । किनभने समाजले महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्दछ । देशमा बलात्कारका घटना दिनहुँजसो घटिरहेका छन् । सात वर्षको बालिकादेखि ७० वर्षको बृद्धा महिलाहरू बलात्कारका शिकार भइरहेका छन् । बलात्कार जस्तो जघन्य अपराधमा समेत कठोर कानुन बन्न नसक्दा बलात्कारीहरू खुलारूपमा हिँडिरहेका छन् । कानुनमा बलात्कार सिद्ध गर्ने पर्याप्त आधार नहँुदा मुद्दा हारिने स्थिति पनि छ ।
मातृत्व क्षमता बोकेका महिलाहरूको रजस्वलालाई छाउपडी प्रथाले अत्यन्तै घृणित र अपमानित तुल्याएको छ । रजस्वलाको समस्यामा महिलालाई पर्याप्त आराम र पौष्टिक खानाको आवश्यकता हुन्छ । तर, सुदूरपश्चिमका केही जिल्लाहरूमा रजस्वला भएका महिलालाई गोठमा राख्ने र दुध, दही जस्ता पौष्टिक खानाबाट बञ्चित गर्ने छाउपडी प्रथा अहिले पनि विद्यमान रहेको छ । विज्ञानले यतिका प्रगति गरिसक्दा पनि नेपाली समाजको मानसिकता भने अझै पनि उठ्न सकेको छैन ।
धर्मको नामबाट पनि महिलाहरू उत्तिकै ठगिएका छन् । संसारका सबै धर्म पितृसत्तात्मक छन् । संसारका सबै धार्मिक ग्रन्थहरू पुरुषले नै बनाएका हुन् । धार्मिक व्याख्या, विश्लेषण र प्रवचन गर्ने कार्य पनि पुरुषले नै गरेका छन् । ठूल्ठूला दर्शन, सिद्धान्तका व्याख्याकार पनि पुरुष नै छन् । यसरी सबै क्षेत्रमा पुरुषले विजय कायम गरिसकेपछि उनीहरूले आफनो लिङ्ग अनुकुलतामा नियम बनाए र लागु गरे ।
यसरी हिंसाका विभिन्न रूपहरूमध्ये देउकी प्रथा, छुवाछुत आदि पनि हिंसाका रूपहरू हुन् । बाटोमा हिँडिरहेको बेला महिलालाई पुरुषले जिस्काउँछ भने त्यो पनि हिंसाको रूप हो । कसैलाई मानसिकरूपमा अप्ठ्यारोमा पुर्याइन्छ भने त्यो पनि हिंसा हो । यसरी सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिकरूपबाट पछाडि पारिएका र ठगिएका महिलाहरू मानव अधिकारको मामिलामा सबैभन्दा ठगिएका छन् । किनभने समानरूपमा जिउन पाउनु तथा समान अवसर पाउनु मान्छेले मान्छे भई बाँच्न पाउनु मानव अधिकारको मान्य सिद्धान्त हो । यस अवस्थामा सवल र समुन्नत समाज निर्माणका लागि आधाभन्दा बढी संख्यामा रहेका महिलाहरूको समग्र पक्षमा सुधार गर्नु अहिलेको मुख्य कार्यभार हो ।
घरेलु हिंसा र गरिबीले पीडित धेरै नेपाली महिला वैदेशिक रोजगारीमा लाग्न बाध्य छन् । परिवार र आफ्नो भविष्यलाई आर्थिक टेवा पुर्याउन मात्र होइन, घरेलु हिंसाबाट मुक्त हुन, लैङ्गिक, सांस्कृतिक, सामाजिक शोषण र पुरातनवादी मूल्य, मान्यताबाट छुटकारा पाउनका लागि पनि नेपाली महिलाहरू अस्थायी कामदारको रूपमा विदेशिने क्रम बढ्दो छ । यसरी विदेशिने महिलाहरू सुरुदेखि अन्त्यसम्मै हिंसामा पर्ने गरेका छन् । स्वदेशमै दलालले अनावश्यक कमिसन खोज्छन् । कतिपय अवस्थामा आफ्नै परिवारका मान्यजनले विदेश पठाउन दबाव सिर्जना गर्छन् । हिंसा विमानस्थलमै हुन्छ । सेल्टर होममा भेडा–बाख्रा जस्तो गरी घरमालिकको पर्खाइमा धेरै संख्यामा लामो समय कुराउँछन् । तोके जति तलब नदिएर ज्यालाको शोषण हुन्छ । बिमारी पर्दा राम्रो उपचार हुन्न । यौनजन्य हिंसाको सिकार भएका समेत प्रशस्तै उदाहरणहरू छन् ।
८ मार्च २०२३ अर्थात् २०७९ फागुन २४ गते आज विश्वका विभिन्न देशमा क्रियाशील महिला संगठनहरूले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउँदै छन् । आज ११३औँ महिला दिवश मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन् ।
नेपालको अन्तरिम संविधान २०६३ र संविधान सभाबाट जारी भएको संविधान २०७२ले संघीयता समावेशिता, धर्मनिरपेक्षता जस्ता समाज परिवर्तनका मूल आधारहरु अगाडि सारेकोले संघ प्रदेश र स्थानीय सरकारमा महिलाहरुको ३३ प्रतिशत उपस्थिति हुनुपर्ने, विभिन्न संघ सस्था, विद्यालय र रोजगारीको क्षेत्रमा समेत महिलाहरुलाई आरक्षण गरिएको भएतापनि महिलाहरुले त्यसको पूर्णरुपमा उपयोग गर्न पाइरहेको अवस्था छैन ।
महिलाहरूलाई कानुनी उल्झनबाट मुक्त गरी आर्थिक सशक्तीकरणका कार्यक्रमद्वारा आत्मनिर्भर बनाउन विदेश पलायन हुनबाट रोक्नुपर्दछ । विदेशमा कामको प्रकृति र बसाइँका हिसाबले विशेषतः खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी शोषण र हिंसामा पर्ने गरेका छन् । त्यति मात्र नभई स्वदेशमा फर्किएपछि पनि सामाजिक लाञ्छना, श्रीमान–श्रीमतीबीच वैमनस्यता जस्ता समस्याले थप हिँसा भित्रिएको छ । जसको परिणामस्वरूप एकपटक वैदेशिक रोजगारमा गएकामध्ये धेरै महिलाहरू पुनः विदेश फर्कने गरेको तितो यर्थाथता हाम्रा सामु छ । छोरा, बुहारी, छोरीहरू विदेशिँदा केटाकेटीको हेरचाहमा बृद्घ माता, पिता, सासु–ससुरालाई थप बोझ भइरहेको छ । यसले गर्दा पारिवारिक बिखण्डन, चर्को ब्याजदरको ऋणभार, आश्रित परिवारजन कुलतमा फस्ने जस्ता सामाजिक समस्या पनि देखिने गरेका छन् । अतः वैदेशिक रोजगारीका कारण कमजोर हुँदै गएको मूल्य–मान्यतालाई बेलैमा पहिचान गरी सुधार्नु र महिलामाथि हुने गरेका हिंसा रोक्नका लागि सरकारी र अन्य सम्बन्धित निकायहरूले ध्यान दिनु जरुरी भएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा हरेक महिला संगठन र राजनैतिक दलहरूको ध्यान तिनै विषयहरूमा केन्द्रित होस् ।
अन्त्यमा आठ मार्चको सबै महिला आमा दिदीबहिनीहरूमा शुभकामना !