
देशका ७० प्रतिशत जनता कृषिमा आश्रीत रहेता पनि आधुनिक तथा सुरक्षित खेति पद्धति अपनाउने कृषकको संख्या न्यून छ । कृषि क्षेत्रलाई आधार मानेर देशको आर्थिक स्तर बृद्धि गर्न, खाद्यसुरक्षा कायम गरी पौष्टिक पदार्थको उपलब्धताको बारेमा चासो राख्दै स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा विकास गर्ने नीति लिएर नेपाल सरकार र विदेशी नियोगका दातृ निकायहरुको सहयोगमा संचालित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरुले स्थानीय निकायका सेवा प्रदायक संस्थाहरुसँग हातेमालो गरी महिला समूहहरु गठन गराइ विकास गर्ने तथा जनचेतना फैलाउने अभिप्रायले जनचेतनामुलक कार्यक्रमहरु संचालन गरीरहेका छन् । जसमा लक्षित समुदायको दायरामा रहेका दुर्गम भेगका गरीब र निमुखा जनताहरु यसको परिबन्धमा रहेर जीवनयापन गर्न बाध्य छन् ।
गाउँमा आर्थिक अवस्था कमजोर भएपछि पुरुषहरु कमाउन विदेशीएका छन् भने जहान परिवार धानेर बसेका महिलाहरु विषादीको जोखिममा छन् । विकासे संघसंस्थाहरुले विकास गर्ने क्रममा महिला सहभागिताहरुको समूह निर्माण गरी उनीहरुलाई प्राविधिक ज्ञान र चेतनामूलक कार्यक्रमहरु समावेश गरी विषादी प्रयोग, खेती गर्ने तौरतरिका आदि इत्यादि विषयमा कृषकहरुलाई दक्ष बनाउने तालिमको आयोजना गरी तालिम दिइयो र सोहीअनुरूप तालिम अनुसरण गरी खेतिपाती गरेर आम्दानी बढाउने कृषकहरुको संख्या उल्लेखनीय छ ।
रासायनिक विषादी तथा खाद्यतत्वको प्रयोगले उत्पादन बढेको देखेपछि बढी कमाउने बहानामा कृषकहरुले अन्धाधुन्ध विषादीको प्रयोग गर्न थाले । जसको असर खानेलाई भन्दा बढी प्रयोग गर्ने स्वयम् कृषकलाई पर्छ भन्ने बारेमा कृषकहरु अनभिज्ञ छन् । विषादीको असर अनि स्वास्थ्य क्षेत्रमा परेको नकारात्मक प्रभावका बारेमा कृषि क्षेत्रमा काम गर्ने सरकारी निकाय तथा संघसंस्थाहरुले पनि यसको कुनै प्रवाह गरेको पाइएन । बरु, उत्पादनमा भएको वृद्धिले गरीब जनसमुदायको जीवनस्तर उकासेको प्रतिवेदन तयार गरेर सम्बन्धीत निकायमा पेश गर्ने र सकेसम्म डलर भित्र्याउने आयोजनाहरु तयार गरियो । उता कृषकको जीवनस्तरमा क्षणिक परिवर्तन त भयो तर, अन्धाधुन्ध विषादीको प्रयोगले उनीहरुको स्वास्थ्यमा परेको नकारात्मक असरले दिनप्रतिदिन स्वास्थ्य बिगँ्रदै गयो । त्यसले उपचार खर्च बढेर आयश्रोतले नधान्ने अवस्थासमेत देखिएको छ ।
कृषि व्यवसायमा आबद्ध कृषकहरुलाई रासायनिक विषादी र प्रविधिको बारेमा चेतनामूलक तालिमहरु संचालन गरियो र तिनै कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई विषादीको मात्रा परीक्षण गरी तरकारीहरु सडकमा ल्याइयो । आखिर त्यही सरकारले विषादीको विकल्पमा अन्य जैविक मलहरुलाई प्राथमिकता दिएर अर्गानिक प्लान्टहरु स्थापना गरिनुपर्ने र जतिसक्दो छिटो कृषकहरुलाई प्राङ्गारिक खेति बारेमा अभियान नै संचालन गर्नुपर्ने अवस्था छ ।
तर, अहिले सरकारी निकायले प्राङ्गारिक खेतिलाई जागरुकताका साथ अगाडि बढाउन सकेको छैन । अब हाम्रो माटो बचाउन हाम्रा भावि पुस्ताहरुको भविष्य सुनिश्चित गर्नको लागि अहिलेबाट नै हामीले कृषिमा क्रान्ति गर्ने बेला आएको छ । यस अवस्थामा कृषक, कर्मचारी, व्यवसायी, विद्यार्थी तथा सम्पूर्ण वुद्धिजीवीहरुको सञ्जाल खडागरी देशव्यायीरूपमा अभियानलाई फैलाउनु पर्ने आवश्यकता टड्कारोरूपमा देखिएको छ ।